आइतबार, माघ ११, २०८२

खाद्यवस्तुको मूल्यवृद्धि उच्च : राष्ट्र बैंक

 |  मंगलबार, मंसिर ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ४, २०८१

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मूल्यवृद्धि भएको छ। मुख्यगरी तरकारी र गेडागुडीको मूल्यमा उच्च वृद्धि देखिएको हो।

National life

'२०८१ असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति सात दशमलव ५० प्रतिशत रहेको थियो', प्रतिवेदनमा भनिएको छ, 'समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति सात दशमलव १८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ४९ प्रतिशत रहेको छ।'

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २५ दशमलव १५ प्रतिशतले वृद्धि भएको छ। जुन सबैभन्दा उच्च मूल्यवृद्धि हो। त्यस्तै, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव ५७ प्रतिशत र घ्यू तथा तेलको चार दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ।

यो अवधिमा केही वस्तुको मूल्य भने घटेको छ। माछा तथा मासु उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक एक दशमलव १८ प्रतिशत, मरमसलाको शून्य दशमलव ७९ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको शून्य दशमलव ७८ प्रतिशतले घटेको छ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १० दशमलव ४९, मदिराजन्य पेय पदार्थको छ दशमलव ३२, कपडाजन्य तथा जुत्ता चप्पलको छ दशमलव १२ प्रतिशत र घरायसी उपकरणको चार दशमलव ८८ प्रतिशतले बढेको छ।

Laxmi sunrise bank
kumari

गत असोजमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक पाँच प्रतिशतले वृद्धि भएको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक चार दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ।

प्रदेशगत रुपमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति छ दशमलव २६, मधेश प्रदेशको पाँच दशमलव ०८, बागमती प्रदेशको चार दशमलव २४ र गण्डकी प्रदेशको तीन दशमलव ९८ प्रतिशत रहेको छ। त्यस्तै, लुम्बिनी प्रदेशको चार दशमलव ४२, कर्णालीको तीन दशमलव २५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको छ दशमलव ५६ प्रतिशत रहेको छ।

काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ५०, तराईको पाँच दशमलव २३, पहाडको चार दशमलव ३२ प्रतिशत र हिमालको पाँच दशमलव ०८ प्रतिशत रहेको छ। रासस

प्रकाशित: Nov 19, 2024| 15:59 मंगलबार, मंसिर ४, २०८१
प्रतिक्रिया दिनुहोस्