शनिबार, वैशाख ६, २०८२

वंशरक्षा कि विवेकहिनता ?

 |  आइतबार, मंसिर २, २०८१
nespernesper

डा. अरुणा उप्रेती

डा. अरुणा उप्रेती

आइतबार, मंसिर २, २०८१

vianetvianet

१५ वर्षअघि म अछाम जाँदा एक महिलाले सोधिन्, ‘तमरा कति सन्तान छन् ?’ मैले भनेँ, ‘दुई छोरी छन्।’ ‘छोरी त छन्, तर सन्तान पो सोधेको त ?’ ती महिलाले भनिन्। 

triton college

छोरीलाई त उनले सन्तान नै नमान्दी रहिछन्। यसमा ती महिलाको दोष थिएन, उनको सामाजिक र सांस्कृतिक नियमले पारिदिएको प्रभाव थियो, जसले उनलाई सिकाएको थियो, ‘छोरा मात्र सन्तान हुन्।’ तर यो मान्यता सुदूरपश्चिमको अछाममा मात्र होइन, काठमाडौं र नेपालका अन्य ठूला सहरमा पनि छ।

१८ वर्षको छोरा नदीमा पौडी खेल्दा डुबेर मृत्यु भएपछि ५४ वर्षीया एक महिलालाई गर्भवती हुन विवश गराइयो, उनको परिवार र समाजबाट। उनको घरपरिवारमा वकिल, व्यापारी र शिक्षक थिए। विश्वविद्यालयमा पढ्ने २२ वर्षकी छोरी पनि थिइन्। छोराको मृत्युबाट व्यथित आमाको आँसु दुई महिनासम्म रोकिएको थिएन। तेस्रो महिनामा सासू, ससुरा, जेठाजू, श्रीमानले उनलाई भने, ‘तिम्रो रजस्वला भइरहेको छ। अर्को बच्चा पाऊ। ५ महिनामा गर्भ जाँच गराउँदा छोरी भए गर्भपतन गराउँला, छोरा भए राखौली। वंश चलाउन र सम्पत्तिको रक्षा गर्न त कोही चाहियो नि।’ 

मानसिक रूपमा व्यथित र शारीरिक रूपमा पनि कमजोर उनले केही सोच्न नै सकिनन्। उनले आफ्नी छोरीलाई पनि मलाई घरपरिवारले यसरी विवश गराइरहेका छन् भनेर भन्न सकिनन्।
छोरा गुमाएको ५ महिनामा निशा फेरि गर्भवती भइन्। तर गर्भको ५ महिनासम्म साह्रै बिरामी भइन्।

पाँचौं महिनामा भ्रूणको लिंग जाँच गराउँदा छोरा नै रहेछ। घर–परिवारका सबै सदस्य खुसी भए। छोरी चाहिँ स्तब्ध भइन्। उनलाई आमा फेरि गर्भवती होलिन् भन्ने लागेकै थिएन। आमासँग रिसाइन्। विवश आमा के गरुन्, आँसु खसाल्दै छोरीको घुर्की सहिरहिन्।

National life insurance

सातौं महिना लागेपछि त रक्तचाप धेरै भएर टाउको दुखेर, बेहोश होला नै जस्तै भएर छटपटिन थालिन्। उनलाई भ्रूणको लिंग जाँच गराएकै अस्पतालमा लगियो। विशेषज्ञबाट परिवारका सदस्यले सुने, ‘उनको अवस्था अत्यन्त गम्भीर छ। ज्यानसम्म जान सक्छ, शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्छ।’ परिवारका सदस्यले शल्यक्रिया गर्न हस्ताक्षर गरे। उनको शल्यक्रिया भयो। मरेको बच्चा जन्मियो। आमा चाहिँ ४८ घन्टासम्म जीवन र मृत्युको संघारमा झुलिरहिन्। आधुनिक औषधी, डाक्टरहरूको अथक मिहेनतले उनी बाँचिन्। 

छोरा नै चाहिने धार्मिक र सामाजिक रीतिले त उनलाई मृत्युकै मुखमा धकेलेको थियो। ती महिलाबारे सुनेपछि मलाई लाग्यो, छोरा पाउने आशामा ५४ वर्षीया श्रीमतीलाई मृत्युको मुखमा धकेल्दा के श्रीमानको मनमा कुनै पनि अपराधबोध भएन ? सायद भएन पनि होला, किनभने श्रीमानलाई त श्रीमतीको जीवनभन्दा बढी चिन्ता आफू मरेपछि कसले पिण्ड देला र आफू कसरी वैतरणी पार गरुँला भन्ने थियो कि ?

जे होस्, सन्तान पाउन महिलाले जीवन दाउमै लगाउनुपर्यो। काठमाडौंका महिला र सुदूरपश्चिमका महिलाको जीवन त नेपाली समाजमा उस्तै छ। छोरी सन्तान होइन भन्ने मान्यता काठमाडौंमा ठूला परिवारमा पनि धेरै देखिएको छ।

२० वर्षका एक युवकको मृत्यु भएपछि घरका सबै शोकमा डुबे। ५० वर्षीया आमा स्तब्ध थिइन्, रुन पनि सकेकी थिइनन्। तेस्रो दिन श्रीमानले उनलाई भने, ‘छोरा नभए त समस्या पर्छ। 
मैले अर्को विवाह गरेर छोरा पाउनुपर्छ कि ?’

यी सबै घटना भिन्नाभिन्नै ठाउँमा भए पनि सबैको कथाचाहिँ एउटै छ, जसरी भए पनि परिवारमा छोराको जन्म हुनैपर्छ। यसका लागि महिलाको स्वास्थ्य खराब होस् वा महिलाको मृत्यु नै किन नहोस्, वास्ता हुँदैन।

किरियापुत्री बस्दा धर्मगुरुले सुनाउने गरुड पुराण, माघ महिनामा पढिने स्वस्थानीमा छोरा नभए जिन्दगी नै सखाप हुने वर्णन गरिएको छ। सायद त्यसैले गर्दा महिला डराउँछन् र जसरी भए पनि छोरा पाएर वंशको रक्षा गर्न तयार हुन्छन्। धर्मगुरुहरूले छोरा र छोरी दुबै सन्तान हुन् लाई सिकाउने बेला भएन ?

- डा. उप्रेतीको फेसबुकबाट 

प्रकाशित: Nov 17, 2024| 18:38 आइतबार, मंसिर २, २०८१
प्रतिक्रिया दिनुहोस्