वीरगंज- वीरगंज महानगरपालिलाई मंगलबारदेखि हर्न र प्लास्टिक प्रयोग निषेधित क्षेत्र घोषणा गरिएको छ। अंग्रेजी नयाँ सालको स्वागत गर्दै महानगरलाई सफा राख्न र सभ्य बनाउन हर्न र प्लास्टिकमा निषेध गरिएको हो।
महानगरको मंसिर १८ गते बसेको कार्यपालिका बैठकले वीरगंज महानगरपालिकालाई पुस १७ बाट हर्न निषेध र प्लाष्टिक निषेध गर्ने निर्णय गरेको थियो। महानगरपालिकाले मंगलबार बिहान नो हर्न र प्लाष्टिक प्रयोगमा लगाइएको प्रतिबन्धको बारेमा निकालेको र्याली नगरपरिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो। महानगरपालिकाले सुरु गरेको यो सचेतना अभियान एक हप्ता संचालन हुनेछ।
अभियानमा सहभागीहरुले ‘मेरो धर्ती, मेरो माटो, मेरो आँगन, मेरो बाटो, मै सफा गर्छु, कुर्दिनँ कसैको बाटोलगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए। महानगरपालिकाका वडा समितिको नेतृत्वमा ३२ सबै वडामा समुदाय प्रहरी साझेदारीले आधा घण्टा प्लाष्टिक टिप्दै सरसफाई अभियान संचालन गरेको थियो।
कार्यक्रममा बोल्दै पहिलो वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा। भीष्मकुमार भुषालले एक साता सम्झाउने तर अटेर गरेको खण्डमा दण्डात्मक उपाय अपनाउने नीति अख्तियार गरिएको जानकारी दिए। पुस २४ गतेदेखि महानगरपालिका र जिल्ला ट्राफिक कार्यालयले दण्डात्मक उपायहरु ल्याउनेछ ।
वीरगञ्ज महानगरपालिकाले प्लाष्टिक जथाभावी फाल्नेको फोटो खिचेर महानगरपालिकालाई दिएको खण्डमा उसलाई गरिने जरीवानाको २५ प्रतिशत दिने घोषणा समेत गरेको छ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले वार्षिक १२ करोड खर्च गर्दा समेत महानगरपालिका सफा हुन नसकेकोले अब कारबाहीको बाटो अपनाउने चेतावनी दिए।
‘फोहोरी र कोलाहलबाट वीरगञ्जलाई मुक्ति दिन जथाभावी फोहोर फाल्ने र हर्न बजाउनेलाई सुरुमा कम्तीमा ५ हजार जरीवाना गर्छौं । त्यसपछि बढाउँदै १ लाखसम्म लिन्छौं’, मेयर सरावगीले भने । सरावगीले वीरगञ्ज महानगरपालिकाबाट प्रदान गर्ने सेवा सुविधा रोक्ने समेत तयारी गरिएको बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४