शुक्रबार, असार २०, २०८२

निर्माणाधीन बृहत् खानेपानी आयोजनामा विपद्‍ले विलम्ब

 |  बिहीबार, कात्तिक १५, २०८१
nespernesper

राजकुमार पराजुली

राजकुमार पराजुली

बिहीबार, कात्तिक १५, २०८१

vianetvianet

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकमा दुई स्थानीय तहमा सञ्चालित बृहत् खानेपानी आयोजनामा गत महिनाको बाढीपहिरोले ठूलो क्षति पुर्‍यायो। गत असोज ११ र १२ गतेको अविरल वर्षाको बाढीपहिराले तेमाल गाउँपालिका र पाँचखाल नगरपालिकामा सञ्चालित निर्माणाधीन खानेपानी आयोजनामा क्षति पुगेपछि समयमै सम्पन्न गर्ने लक्ष्य पूरा हुन नसक्ने हुँदा तोकिएको समयमा स्थानीय नागरिकले खानेपानी उपभोग गर्नबाट वञ्चित बन्न पुगेका हुन्।

तेमालमा ५५ हजार स्थानीयका लागि सञ्चालित खानेपानी आयोजनाको प्रारम्भिक मूल्यांकनअनुसार आठ करोड रूपैयाँका संरचनामा क्षति पुगेको जनाइएको छ। उपभोक्ता समितिका अनुसार खानेपानीको स्रोतका रुपमा रहेका मुहान क्षेत्र सुनकोशी नदी किनारमा एउटा मुख्य ट्यांकी पूर्णरुपमा पुरिएको छ।

समितिका अध्यक्ष सङ्ग्रामजित लामाले लिफ्टिङका लागि राखिएको एक ट्रान्सफर्मर, तीन गार्ड घर, बिजुलीका १५ वटा खम्बा, चारवटा वितरण ट्यांकीमा क्षति पुगेको छ भने एक हजार तीनसय मिटर जीआईका मुख्य पाइपलाइनमा क्षतिग्रस्त भएको तथा बिजुलीका संरचना सबै ध्वस्त भएको जानकारी दिए। उनका अनुसार विभिन्न बस्तीमा लगिएका पाइपलाइनमा पनि क्षति पुगेको छ।

सो आयोजना पुनःनिर्माण एवं मर्मतसुधार गर्नका लागि आयोजनासँग बजेट प्राप्तिका लागि प्रशासनिक कार्य सुरु गरिएको लामाले बताए। 'प्राविधिकसहित प्रत्येक संरचनाको क्षति मूल्यांकन गर्ने कार्य भर्खरै सुरु गरेका छौँ, यकिन क्षति विवरण भने आउन बाँकी नै छ', उनले भने।

आयोजना सम्पन्न गर्न थपिएको समयसीमामा लक्षित समुदायमा पानी वितरण गर्ने सम्पूर्ण तयारी भइसकेको अवस्थामा बाढीपहिराले आयेजनामा क्षति पुगेको लामाको भनाइ छ। लामाले गत साउनमा सक्नुपर्ने आयोजना केही प्राविधिक कारण असोजसम्म लम्बिएको थियो। उनले भने, 'विपद्ले झन् तहसनहस बनाइदियो, अब कहिलेसम्म बनाइसक्ने हो, आधिकारिक मूल्यांकनपछि मात्रै थाहा हुनेछ।'

गत वर्षको चैतमै समयसीमाभित्र उपभोक्ताको घरघरमा खानेपानी उपलब्ध गराउने लक्ष्य लिइए पनि निर्माण कम्पनीले भुक्तानी नपाएको भन्दै काम रोकेपछि गत साउनसम्म लम्ब्याइएको थियो। खानेपानी मन्त्रालयबाट करिब पाँच करोड रूपैयाँ भुक्तानी नपाएको जनाउँदै कम्पनीले महिनौँदेखि निर्माणको काममा आलटाल गरेको उपभोक्ता समितिले जनाएको छ। उक्त आयोजना आठ वर्षअघि कालिका-सीएबी जेभी नामक निर्माण कम्पनीले २०७८ मा सक्ने गरी ठेक्का लिएको थियो।

यसअघि आयोजनालाई कोरोनाको दुई लहर र २०८० साउनमा सुनकोशी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पुर्‍याउँदा सो आयोजना करिब एक वर्ष धकेलिएको थियो। लामाले आयोजनाको ९९ प्रतिशत काम सकिएको बताए। उनका अनुसार आयोजनाको पानी प्रशोधनको काम भएको छ भने पहिलो चरणमा करिब तीन हजार पाँच सय उपभोक्तालाई घरमा पानी पुर्‍याइसकिएको थियो। उनका अनुसार २३ ट्यांकीमा पानी परीक्षण भइसकेको, मुख्य पाइपलाइन र शाखा लाइनमा पाइप बिछ्याउने तथा घरघरमा धाराका सामग्री वितरण कार्यसमेत सकिएको थियो। साथै, प्रशोधन केन्द्रदेखि वितरण ट्यांकीसम्मको पाइपमा समेत पानी परीक्षण भइसकेको जनाइएको छ।

यस आयोजनाले नमोबुद्ध नगरपालिका-५ कोट तेमाल र कालीमाटीका करिब नौ सय घर तथा रोशी गाउँपालिका-७ कटुञ्जेस्थित एकसय १० घरपरिवार समेटेको छ। तेमाल क्षेत्रका नौ हजार तीनसय १० परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो। पाइपको मुख्य लाइनअन्तर्गत ५० किलोमिटर उपभोक्ताले खाल्डो खनेर बिछ्याउनुपर्ने सम्झौताअनुसार काम भएको थियो। आयोजनाका लागि पाँच करोड रूपैयाँबराबरको जनश्रमदान भएको लामाले बताए। आयोजनाको छुट भएका केही निर्माणको काम गर्न संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट गत पुसमा रु १० करोड ३४ लाख ४१ हजार उपलब्ध भए पनि थप निर्माणको काम भएको छ।

याङ्बेल डाँडामा आयोजनाको चार लाख लिटर क्षमताका निर्माण गरिएको दुई मुख्य ट्यांकीमा भने क्षति नपुगेको लामाले बताए। लिफ्टिङ प्रविधिको उक्त आयोजनाको मुहान सुनकोशी नदी किनारमा छ।

गत वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका-२ र ३ को सिमाना सुनकोशी नदी किनार चुखाबेँसीका कटान गरेको थियो। त्यससँगै गत साउन १७ र १९ गतेको बाढीले क्षति पुर्‍याएपछि आयोजनाको मुहान क्षेत्रमा निर्माण लिफ्टिङ ट्यांकीको जोखिमलाई सुरक्षित गरिएको छ। लामाका अनुसार बाढीले त्यतिबेला आयोजनाको ६० लाख रूपैयाँभन्दा बढी क्षति पुर्‍याएको थियो भने करोडौँका संरचनालाई जोखिम पुर्‍याएको थियो।

तेमाल क्षेत्रअन्तर्गत तेमाल गाउँपालकाको नौ वडा, नमोबुद्धको तीन वडा तथा रोशी गाउँपालिकाको ७ नं वडाका बासिन्दाले उक्त खानेपानी उपभोग गर्न पाउने भएका हुन्। विसं २०७२ असारमा सम्झौता भएको आयोजनाको काम २०७८ मङ्सिरमा सक्ने लक्ष्य राखिएको थियो। खानेपानी विभागमार्फत एक अर्ब २७ करोड रूपैयाँ, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका थिए।

यसैगरी, गत असोज तेस्रो साता पाँचखालका उपभोक्ताले आ-आफ्ना धारामा खानेपानी पाउने थिए, तर यस वर्षको बाढीपहिरोले आयोजनामा क्षति पुर्‍याएपछि केही महिना धकेलिएको छ।

पाँचखाल नगरमा सञ्चालित बृहत् पाँचखाल-सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगिसकेको थियो। उपभोक्ता समितिले असोज २३ गते पहिलो चरणमा खानेपानी दिलाउने योजना बाढीपहिरोले विफल बनाएको हो। पाँचखालका छ हजार परिवारको साढे ३१ हजार नागरिकले घरघरमा स्वच्छ पिउने पानी पाउने आयोजना हो।

बाढीपहिरोले आयोजनाको मुहान क्षेत्रमा डुबान गर्नाका साथै करिब ७५ मिटर घेरा पर्खाल भत्काएर लेदो जमेको छ भने ४८ स्थानमा करिब तीन मिटर वितरण पाइप, १२ वटा बिजुली पोल, खानेपानीको करिब दुई किलोमिटर हाइटेन्सन तार तथा केही संरचनामा क्षति पुगेको आयोजनाले जनाएको छ। आयोजनाका परामर्शदाता अशोक अधिकारीका अनुसार प्रारम्भिक मूल्यांकनले आयोजनाको एक करोड ७० लाख रूपैयाँ क्षति पुगेको जानकारी दिए। उनले मुहानका मुख्यलगायत कलेक्सन ट्यांकी तथा उक्त क्षेत्रमा जमेको लेदो सफाइ र अन्य भौतिक क्षति मर्मत गर्न करिब चार महिना लाग्नेछ।

यसैबीच, खानेपानी उपभोक्ता समितिले आयोजनाको अनुगमन निरीक्षण गरी क्षतिग्रस्त संरचना तत्काल बनाउन आयोजना तथा ठेकेदार कम्पनीलाई आग्रह गरेको छ। समितिका अध्यक्ष कुमार लामिछानेले तीन महिनाको अवधिमा आयोजनाको क्षति मर्मत एवं बाँकी काम सम्पन्न गर्न आयोजनालाई आग्रह गरिएको बताए।

'असोजमै खानेपानी वितरण गर्ने योजना बाढी, पहिरोले विफल बनाइदियो, अब निरन्तर काम गरी तीन महिनामा उपभोक्ताको घरमा पानी पुर्‍याउने गरी लाग्न आयोजना र निर्माण कम्पनीलाई आग्रह गरेका छौँ', उनले भने।

निर्माणाधीन यस आयोजनाको भौतिकतर्फ करिब ९७ दशमलब ४० प्रतिशत सम्पन्न भएको जनाइएको छ। लामिछानेका अनुसार हाल योजनाको कार्य अन्तिम चरणमा पुग्दा परीक्षणबाट प्रतिसेकेन्ड ८४ लिटर पानी तान्न सफल भएको छ। 

यस्तै, प्रतिघण्टा तीन लाख दुई हजार चार सय पानी तान्न सहज ढंगबाट सकिने र आयोजनाको लक्ष्यअनुसार लगातार २० घण्टा पानी तान्न सकिने प्रमाणित भएको लामिछानेले बताए। लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने भएको हो।

यस्तै, आयोजनाअन्तर्गत सुनकोशी नदी किनारमा छवटा इनार, चार/चार लाख लिटर क्षमताको दुई पानी संकलन ट्यांकी, तीन लाख लिटरको ब्याकवास ओभरहेड ट्यांकी, दश नयाँ वितरण ट्यांकी, छ ब्रेक प्रेसर ट्यांकी तथा १५ वटा पालेघरलगायत आवश्यक बिजुलीका सामग्री र पाइपलाइनको काम सम्पन्न भएको जनाइएको छ।

कुल छ हजार ३७ धारामध्ये हालसम्म पाँच हजार पाँच सय धारा जडान, उपभोक्ता समिति भवन, पानी प्रशोधन केन्द्रका सम्पूर्ण कार्य सम्पन्न भइसकेको छ। हाल आयोजनाको २४ पानी तान्ने पम्प जडान, सात बिजुलीको ट्रान्सफर्मर जडान, खोलादेखि पानी संकलन केन्द्रसम्मको हाइटेन्सन लाइन विस्तारको काम सम्पन्न भइसकेको छ।

सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच २०७७ असार १५ गते २०७९ माघ महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको आयोजनाको काम कोरोना सङ्क्रमण, मेलम्चीमा आएको बाढीका कारण आयोजनाको पूर्वाधारमा क्षति पुर्‍याएका कारण लम्बिएको हो।

यी कारणले पहिलोपटक १० महिना र दोस्रोपटक चार महिना गरी आयोजना सम्पन्न गर्न १४ महिनाको समय थप गरिएको थियो।

पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका-१० बिमिरेस्थित सुनकोशी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माण गरिएको हो। एक अर्ब ४७ करोड ४३ लाख ६० हजार रूपैयाँको लागतमा निर्माण सम्पन्न हुने आयोजनाबाट पाँचखाल नगरपालिका-२, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ का छ हजार ३७ घरधुरीका हाललाई ३१ हजार चार सय १५ नागरिक लाभान्वित हुनेछन्।

सन् २०४० सम्म ४५ हजार नागरिक लाभान्वित हुनेसमेत प्रक्षेपण गरिएको छ। आयोजनाका लागि सम्झौताअनुसार दातृ निकाय, नेपाल सरकारको बजेटसँगै कुल योजनाको पाँच प्रतिशत अर्थात् ११ करोड पाँच लाख पाँच हजार तीनसय रूपैयाँ प्रतिपरिवार १८ हजार रूपैयाँका दरले रकम बुझाएका छन्। यस्तै, आयोजनाका लागि सम्झौताअनुसार दुई सय १४ उपभोक्ताले सहकारी संस्थाबाट समेत ऋण लिइ खानेपानीका लागि रकम बुझाएका थिए।

यसैबीच, गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा सञ्चालित एक सय खानेपानीका आयोजनामा क्षति पुगेको जनाइएको छ। हालसम्म प्राप्त क्षतिको विवरणअनुसार काभ्रेपलाञ्चोकमा मात्र रु एक अर्बको क्षति पुगेको खानेपानी तथा सरसफाइ ३ नं डिभिजन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। कार्यालयका अनुसार बाढीपहिरोले एक सयभन्दा बढी निर्माणाधीनलगायतका खानेपानी आयोजनामा क्षति पुगेको हो।

जिल्लामा सञ्चालनमा रहेका दुई र निर्माणाधीन अवस्थाका सात योजनामा क्षति पुगेको जनाइएको छ। कार्यालयका निमित्त प्रमुख इन्जिनियर दिलीप कुमारका अनुसार बाढीपहिरोले काभ्रेपलाञ्चोकमा एक सयभन्दा बढी लिफ्ट तथा ग्राभिटी खानेपानी आयोजनामा क्षति पुगेको छ। उनले अझै बाढीपहिरोका कारण क्षति पुगेका खानेपानी आयोजनाको तथ्यांक आउने क्रम जारी रहेको बताए। उनका अनुसार सबै स्थानीय तहलाई खानेपानी आयोजनामा पुगेको क्षतिको विवरण पठाउन टेलिफोन तथा पत्रको माध्यमबाट अनुरोध गरिएको छ।

कार्यालयले काभ्रेपलाञ्चोकको भुम्लु बृहत् खानेपानी, कटुन्जे लिफ्टिङ, सीताघारी खानेपानी, रोशी औद्योगिक ग्राम र कालढुंगा बजार व्यवस्थित खानेपानी आयोजना, भूमिडाँडा बृहत् खानेपानी आयोजना, भदौरेछाप-फेट्टार-मुकुटार-सिहाले, बकुलछार-फलाङ्गे बृहत् खानेपानी, इन्द्रावती कोलाचौर लिफ्ट खानेपानी, भुम्लु सपिङ खानेपानीलगायत योजनाको क्षतिको विवरण प्राप्त भएको जनाएको छ। 

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका आयोजना प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद श्रेष्ठले बाढीपहिरोबाट काभ्रेपलाञ्चोकको सञ्चालनमा रहेको तिमाल बृहत् (सुक्खा क्षेत्र) खानेपानी तथा सरसफाइ आयोजनामा क्षति पुग्दा आठ हजार तीनसय ७३ घरपरिवार र चौँरीखोला-ढोकेडाँडा खानेपानी आयोजनामा क्षति हुँदा एक हजार नौ सय तीन घरपरिवार खानेपानीको सुविधाबाट वञ्चित भएको जानकारी दिए।

उनका अनुसार बाढीपहिरोबाट जिल्लामा निर्माणाधीन भकुन्डेबेँसी-खनालथोक-खाक्सी-दाप्चा क्षेत्र बृहत् खानेपानी, काशीखण्ड बृहत् खानेपानी, नमोबुद्ध बृहत् खानेपानी, पनौती बसपार्क गुणस्तर खानेपानी, सुनकोशी कोशीदेखा खानेपानी गुणस्तर सुधार आयोजना, साँगा बृहत् खानेपानी आयोजना र पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजनामा क्षति पुगेको छ। 

यसैगरी, बाढीपहिरोबाट खानेपानी आयोजनाको पाइपलाइन, सम्पवेल, विद्युत् ट्रान्सफर्मर, पाइपलाइन, पानी संकलन ट्यांकीलगायतमा क्षति भएको विवरण प्राप्त भएको कार्यालयले जनाएको छ।

बाढीपहिरोका कारण सञ्चालनमा रहेको धुलिखेल खानेपानी, निर्माणाधीन पाँचखाल बृहत् खानेपानी आयोजना तथा सञ्चालनको अन्तिम तयारीमा पुगेको काभ्रे उपत्यका (तीन नगर समेटिएको) एकीकृत खानेपानी आयोजनामा ठूलो क्षति पुगेको छ। उक्त एकीकृत खानेपानीको मात्रै १० करोड रूपैयाँभन्दा धेरैको क्षति भएको अनुमान गरिएको छ।   -रासस

प्रकाशित: Oct 31, 2024| 06:01 बिहीबार, कात्तिक १५, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कस्तो छ बिपी राजमार्गको पछिल्लो अवस्था ?

कस्तो छ बिपी राजमार्गको पछिल्लो अवस्था ?

राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एक मात्र वैकल्पिक र अत्यन्त महत्त्वपूर्ण सडकमार्गमा रहेको बिपी राजमार्गका सडकखण्ड अहिले थिलथिलो अवस्थामा पुगेको छ।