काठमाडौं- दसैँको पूर्वसन्ध्यामा सात वर्षीय छोरा माइत छाडेर झापाकी रुपा गिरी मलेसिया उडिन्। मलेसिया जान लागेकी गिरीले भावुक हुँदै भनिन्, “घर चलाउन, घरै छाड्नुपर्यो।” घरको आर्थिक स्थिति सुधार्न विदेसिन लागेको उनको भनाइ थियो।
कक्षा ११ को पढाई बीचैमा छाडेर गिरीले बिहे गरेको केही वर्षमा छोरा जन्मियो। कलाकारिता पेसामा आबद्ध श्रीमानको कमाइले परिवार चलाउन सकेनन्। छोरो स्कुल पठाउन थालेपछि पठनपाठन शुल्क तिर्न र पालनपोषण गर्नसमेत हम्मेहम्मे भयो। उनले ऋण गरेर स्वदेशमै व्यापार गर्नेबारे पनि नसोचेकी हैनन् तर लगानी गर्ने आँट नभएपछि विदेसिन बाध्य भएको बताइन्। “सन्तान छाडेर विदेसिने कुन आमालाई खुसी मिल्छ होला र”, उनले भनिन्, “मुटुमा ढुङ्गा राखेर जान लागेकी छु। राम्रै कम्पनी परे त ठिकै हो। नभए के गर्ने थाहा छैन।” गिरीसँगै कामदारका रुपमा विदेश जान आठ महिला तयार थिए।
त्यही लहरमा भेटिएकी झापाकै ३४ वर्षीया सरस्वती तामाङको अनुहार मलिन देखिन्थ्यो। आफ्नै नाम भन्न लजाउने तामाङले समुन्द्रपारिको मुलुकमा कसरी काम गर्लिन्? प्रश्नको जवाफ छोटोमा दिइन्, “जे त होला।” तामाङले ५ कक्षासम्म मात्रै पढेकी छन्। सानैमा बिहे भयो। १० वर्षकी छोरी छोडेर विदेसिनु कुनै महत्वाकाङ्क्षा नरहेको उनको भनाइ छ। “यो मेरो बाध्यता हो”, उनले भनिन्, “छोरी हुर्किंदै छे, उसलाई मेरो जरुरी पर्छ तर गरिबीले विदेसिने बनायो।”
तामाङका श्रीमान् सवारी चालक हुन्। सुकुम्बासी बस्तीमा बस्ने उनीहरुको जग्गा जमिन छैन। घर चलाउन श्रीमानलाई विदेश पठाउने तयारी गरे पनि स्वास्थ्य परीक्षण गर्दा छातिमा दाग देखिएपछि उनले आफैँ विदेसिने निधो गरिन्। “नेपालको कमाइले पुग्दैन। महँगी छ। त्यसैले विदेसिनुको विकल्प देखिँन”, उनले भनिन्।
स्याङ्जाकी धनु घले दुई छोराछोरीकी आमा हुन्। श्रीमानले काम नगर्ने, जाँडरक्सी खाएर कुटपिट गर्ने गरेपछि उनले ‘फुटपाथ’मा साग बेचेर जीविकोपार्जन गर्दै आएकी थिइन्। छोराछोरी पढाउन र हुर्काउन गाह्रो भयो। श्रीमानलाई फकाएर मलेसिया पठाइन्। विदेश गएका श्रीमानले खर्च पठाउने आशामा पाँच वर्ष बित्यो तर श्रीमानले न पैसा पठाए न त फोन सम्पर्क नै गरे। हातमुख जोर्न मुस्किल भएपछि ४२ वर्षीया घलेले छोराछोरीलाई छात्रवासमा राखेर दुबई जान लागेको बताइन्। “विदेश गएको श्रीमानले एक सुको पठाएन, वास्तै गरेन”, उनले भनिन्, “छोराछोरी पाल्ने कोही नभएपछि उनीहरुकै भविष्यका लागि विदसिन लागेकी हुँ।”
वैदेशिक रोजगार विभागको सन् २०२२ को तथ्याङ्कमा वैदेशिक रोजगारमा जाने महिलाको उमेर समूहमा २४ देखि ३४ वर्षका ५२ दशमलव तीन प्रतिशत, १८ देखि २४ उमेरका ३२ दशमलव तीन प्रतिशत र ३५ देखि ४४ वर्ष उमेरका १४ दशमलव छ प्रतिशत र ४५ देखि माथिका शून्य दशमलव आठ प्रतिशत उल्लेख छ।
विभागका अनुसार बर्सेनी ६० हजार हाराहारीको सङ्ख्यामा महिला वैदेशिक रोजगारीमा जाने गरेका छन्। आर्थिक वर्ष २०७८/०७९ मा ४९ हजार महिला वैदेशिक रोजगारीमा गएका थिए। आर्थिक वर्ष २०७९/०८० मा ७२ हजार महिला श्रम गर्न विदेश गए। आर्थिक वर्ष २०८०/८१ मा भने वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या वृद्धि भई ८० हजार पुगेको छ।
वैदेशिक रोजगार बोर्डका प्रवक्ता टिकाराम ढकालले तुलनात्मक रुपमा पुरुषभन्दा महिला कमै विदेश जाने गरेको देखिए पनि पछिल्लो तथ्याङ्कले रोजगारका लागि विदेश जाने क्रम बढ्दो अवस्थामा रहेको बताए। उनका अनुसार खाडी मुलुक जाने महिलाको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ। “अधिकांश महिला साउदी, मलेसिया, कुबेत, कतार, युएइलगायत खाडी मुलुकमा रोजगारका लागि जानुहुन्छ”, प्रवक्ता ढकालले भने, “त्यसमा पनि श्रम स्वीकृति नलिइ लुकेर जानेहरुको तथ्याङ्क पाउन मुस्किल छ।”
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले वैदेशिक रोजगारमा आमा जान बाध्य हुँदा परिवारमा नकारात्मक असर परेको बताइन्। आयोगले एक वर्षअघि गरेको तथ्याङ्कको विश्लेषण गर्दै भनिन्, “आमा नहुँदा घर परिवार लथालिङ्ग भएको छ।” राज्यले स्वदेशमै रोजगारीको सुनिश्चितता नगर्दा नागरिककले सास्ती खेप्नुपरेको उनको भनाइ छ।
पौरखी नेपालका पूर्वअध्यक्ष मञ्जु गुरुङका अनुसार आमाहरु परिवार पाल्न विदेसिनुमा सामाजिक, आर्थिक, राजनीतिक पक्षहरु मुख्य छन्। संस्थाले विदेश जानुअघि परामर्श दिने, सकेसम्म स्वदेशमै बस्न उत्साहित गर्ने र नभएमा विदेश जाँदा अपनाउनुपर्ने सचेतताबारे परामर्श दिँदै आएको उनले बताइन् ।
बितेका १५ वर्षमा पाँच हजार बढी वैदेशिक रोजगारीमा अलपत्र महिलाको उद्धार गरिएको उनले जानकारी दिइन्। “नेपाली समाजमा महिलाले थुप्रै विभेद सहन बाध्य छन्”, उनले भनिन्, “जसले गर्दा घर छोडेर कमाउन विदेसिएका छन्।” आमाहरुलाई स्वदेशमै टिकाउन राज्यले उद्यमशील निती ल्याउन जरुरी रहेको उनको सुझाव छ। रासस