शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कसरी थाहा पाउने जटिल डेंगु ? बच्ने कसरी ?

 |  मंगलबार, असोज २९, २०८१
nespernesper

डा. शेरबहादुर पुन

डा. शेरबहादुर पुन

मंगलबार, असोज २९, २०८१

बिदाको दिन सामान्यतया म तरकारी किन्न तरकारी बजार जाने गर्छु। अनि फर्कंदा सार्बजनिक गाडीमा/बसमा फर्कने गर्छु। केही दिनअगाडि मेरो ठीक पछाडिको सिटमा एक जोडी ज्वरो अनि टाउको/जीउ असाध्यै दुखेको, खानामा अरुचि भएको भन्दै कुरा गर्दै थिए।

triton college

अर्कोले भन्दै थियो सायद डेंगु पो हो कि ? भोलि चिकित्सकसँग परामर्श गरेर रगतको जाँच गराउनु पर्ला भन्दै बिरामीले भन्दै थिए। त्यस्तै अस्ति बिहानै कोठाको झ्यालबाहिर दुई व्यक्ति (सायद बिहानी हिँडाइमा थिए) ज्वरो अनि जीउ दुखेको भन्दै डेंगु लागेको शंका गर्दै थिए। यसबाट हाल समुदायमा डेंगु फैलिएको देखिन्छ।

डेंगु सुरुवा रोग हैन तर यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ। डेंगु लक्षणहरूका बारेमा चर्चा हुने गरेको देखिए तापनि अधिकांश सङ्क्रमितहरू लक्षण बाकेर नै आफ्नो कार्यक्षेत्रमा खटिरहेका पनि देखिन्छन्। कतिपय भने घरमा नै आराम गरेर स्वास्थलाभ गरिरहेका अवस्था छ।

डेंगुका लक्षणहरूका बारेमा धेरै सुनेको र व्यापक प्रचार भएको पनि देखिन्छ तर जटिलता निम्त्याउन सक्ने संकेतहरूका बारेमा भने कमैलाई थाहा भएको देखिन्छ। सन् २०२२ मा अधिकांश डेंगुबाट मृत्यु भएकाहरू भर्ना हुँदा नै जटिल डेंगु लिएर आएका तथ्यांक देखिन्छ तर हामीले विगतमा देखिएका कमीकमजोरीबाट सिकेर आगामी दिनहरूमा डेंगुको मृत्युदरलाई घटाउने कोसिस गर्नुपर्छ। यसर्थ डेंगु मृत्युदर वा जटिलता घटाउने एक मुख्य उपायमध्ये ‘जटिल डेंगु’ का पूर्व संकेतहरूका बारेमा थाहा पाउनु पनि आवश्यक छ।

अधिकांश डेंगु संक्रमितमा सुरुमा ‘फेब्राइल फेज’ देखिने गर्छ। यसमा मुख्यतयाः टाउको दुख्ने, जीउ दुख्ने, जोर्नी वा मांसपेशीका दुख्ने र खाना खान पटक्कै मन नलाग्ने हुन्छ। त्यस्तै ज्वरो आउने, आँखाको गेडी दुख्ने वा खस्लाजस्तो हुने, शरीरमा स–साना राता बिमिराहरू देखिने, पखाला लाग्नेजस्ता समस्या पनि देखिने गर्छ। कतिपयलाई खोकी पनि लागेको देखिन्छ।

Metro Mart
vianet

तर खोकी डेंगुको कारणले हो वा फ्लू भाइरसले गर्दा हो भनेर छुट्याउने गरेको भने देखिँदैन। वास्तवमा हाल फ्लूको सिजन पनि हो भने कोभिडको संक्रमण पनि सँगसँगै देखिएको छ। ‘फेब्राइल फेज’ औसतमा झन्डै आठदेखि १० दिनमा देखिने गर्छ। ज्वरो घटेको २४ देखि ४८ घण्टा बिरामीमा ‘जटिल डेंगु’ देखिने सक्ने सम्भावना प्रबल रहन्छ।

‘जटिल डेंगु’का पूर्वसंकेतहरू के के हुन् त ?
- तारन्तार बान्ता हुनु
- असाध्यै पेट दुख्नु
- नाक वा गिजाबाट रगत बग्नु,
- बेचैनी हुनु वा अत्यन्त कमजोर हुनु आदि

माथि उल्लिखित लक्षण वा संकेतहरू घरमा सङ्क्रमित भएर बसिरहेको बेला देखिन वा थाहा पाउन सकिन्छ। तसर्थ, यस्ता संकेतहरू देखिए तुरुन्त स्वस्थ केन्द्र वा अस्पतालमा जानुपर्दछ। अस्पतालमा जाँच गर्दा थप संकेतहरू देखिने गर्दछ। परीक्षणबाट कलेजो आकार बढेको वा सुन्निएको तथा छाती वा पेटमा पानी भए-नभएको थाहा हुन्छ।

रगतको जाँच गर्दा प्लेटेलेट्स तीव्र गतिमा घट्नु र हेमाटोकृत बढेको देखन्छ। डेंगुको सङ्क्रमण भएको बिरामीलाई कमजोरी अनुभव हुन्छ। डेंगु लागेपछि रगतमा प्लेटलेट्सको सङ्ख्या तीव्र रुपमा घट्न थाल्छ। यस्तो अवस्थामा औषधिका साथसाथै खानपान र सही दिनचर्या आवश्यक हुन्छ।

सन् २०२२ सालमा काठमाडौंमा देखिएको डेंगु प्रकोपले सबैभन्दा धेरै मानिसको ज्यान लिएको थियो। यो प्रकोपलाई कोभिड–१९ को घातक लहरहरूभन्दा खासै फरक महसुस नगरे वा तुलना गरिएको थियो। काठमाडौंका लागि सन् २०१९ पछिको दोस्रो ठूलो प्रकोप (धेरैलाई अस्पताल आउनुपर्ने बाध्यता गराएका कारण) थियो।

अनि नेपालको इतिहासमा नै ‘घातक डेंगु’ वर्षका रुपमा मैले सन् २०२२ लाई लिएको थिएँ। यसमा विशेषतः ज्येष्ठ नागरिक अनि दीर्घरोगीहरू जस्तै उच्चरक्त चाप, मधुमेह र श्वास–प्रश्वासको सङ्क्रमण भएका व्यक्तिहरू बढी डेंगुको जटिलताबाट मृत्यु भएका थिए। मनसुनको समयमा डेंगु सँगसँगै देखिने अरू सङ्क्रामक रोगहरूले डेंगु लक्षणलाई थप जटिल बनाउन सहयोगी भूमिका खेल्ने विभिन्न अध्ययनहरूको नतिजाले देखाएको छ।

नेपालमा डेंगु सँगसँगै चिकुनगुनिया भाइरस, स्क्रब टाइफस, फ्लूजस्ता थप सङ्क्रमणहरू फैलने गर्दछ। यसर्थ, ज्येष्ठ नागरिक, सह–सङ्क्रमित वा उच्च रक्तचाप, मधुमेह र श्वास–प्रश्वास (दीर्घ वा हालै सङ्क्रमित भएको अवस्था) समस्या भएका व्यक्तिहरूले ‘जटिल डेंगु’ का पूर्वसंकेतलाई कुर्नै वा देखिनु नै पर्छ भन्ने छैन।

यस्तो अवस्थामा चिकित्सकको निरन्तर सम्पर्कमा रही आफ्नो स्वास्थ अवस्थाका बारेमा जानकारी लिनु अति बुद्धिमानी हुनेछ। डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो। किनभने यसको टोकाइ एवं सङ्क्रमण निकै घातक हुन सक्छ।

दसैं अगाडि डेंगुले गति लिँदै गइरहेको अवस्था थियो। दसैंलगत्तै अस्पतालमा जाँदा डेंगु पुष्टि भएका बिरामीहरूको सङ्ख्या अझ बढ्दै गइरहेको पाइएको छ। यसबाट दिनमा नै दर्जनौं डेंगु भाइरस पुष्टि हुने क्रमले निरन्तरता पाइरहेको अवस्था देखिन्छ। हुन त काठमाडौं मात्र नभई देशका विभिन्न ठाउँहरूमा डेंगुले व्यापक प्रभाव पारेको जानकारीहरू आउने क्रम जारी छ। डेंगुको यो रफ्तारमा सम्भवतः तत्काल रोकिने सम्भावाना अत्यन्त न्यून देखिन्छ।

चाखलाग्दो कुरा के छभने अधिकांश डेंगु सङ्क्रमितहरू लक्षण लिएर घरघरमा बसिरहेको वा कार्यक्षेत्रमा निरन्तर खटिरहेका देखिन्छन्। अझ भनौं धेरै मानिस ‘वाकिङ डेंगु’को अवस्थामा रहेको देखिन्छ। ‘वाकिङ डेंगु’ भन्नाले डेंगु सङ्क्रमित भई निरन्तर आफ्नो दैनिकीलाई निरन्तरता दिइरहेको अवस्थालाई भन्न खोजेको हो।

चाडपर्वमा मान्छेहरू यसको लक्षणलाई नजरअन्दाज गर्दै आउजाउ, भेटघाट गरिरहेका छन्। किनभने डेंगुको सामान्य लक्षण आम समस्यासँग मिल्दोजुल्दो हुन्छ। यस्तो अवस्थामा मान्छेहरू सामान्य समस्या ठानेर आफूखुसी औषधिसमेत खाँदै हिँड्डुल गरिरहेका हुन्छन्। जब समस्या जटिल बन्दैन, तबसम्म उनीहरू अस्पताल पुग्दैनन्।

अधिकांशलाई डेंगुको लक्षण देखिएको ८–१० दिनमा स्वास्थ्यमा सुधारोन्मुख देखिन्छ भने केहीमा डेंगुले जटिल अवस्था सिर्जना गर्न सक्छ। तसर्थ ‘जटिल डेंगु’ का पूर्वसंकेतहरू सङ्क्रमितले थाहा पाउन अति आवश्यक देखिन्छ र सो देखिए तुरुन्त चिकित्सकसँग सम्पर्क गर्न सक्छन्। हाल डेंगु सङ्क्रमणको लहर रोक्न विभिन्न कारणले गर्दा चुनौती रहेको भए तापनि ‘जटिल डेंगु’ का पूर्वसंकेतलाई ध्यान दिनसक्ने हो भने डेंगुबाट हुनसक्ने मृत्युदरलाई उल्लेखनीय सङ्ख्यामा कम गर्न सकिन्छ।

हालसम्म रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा सामाजिक सञ्जालहरूमा डेंगु के हो, कसरी सर्छ र यसका लक्षणहरूका बारेमा जानकारीहरू दिने गरेको देखिए तापनि अबको प्रचारप्रसार तथा जानकारीहरू ‘जटिल डेंगु’ का पूर्वसंकेतका बारेमा केन्द्रित हुनुपर्ने देखिन्छ। यसबाट डेंगुबाट हुने मृत्युदरलाई उल्लेखनीय रुपमा कम गर्न सकिनेछ। यो नै अहिलेको प्रमुख आवश्यकता र सघन माग पनि हो।

(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)

प्रकाशित: Oct 15, 2024| 13:20 मंगलबार, असोज २९, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सत्ताइस सालको त्यो दसैं

सत्ताइस सालको त्यो दसैं

दिदी २५ पैसाको तामाको ढ्याक पाएर खुसीले नाच्नुहुन्थ्यो। छोरीहरुलाई पढाउनु पर्दैन भन्ने समाजमा टीका लगाएर पैसा दिएर खुट्टामा ढोग्ने चलन भने थियो।