शुक्रबार, चैत २२, २०८१

बूढाहरुले धानेको भेडीगोठ

 |  आइतबार, असोज ६, २०८१
nespernesper

सन्तोष गौतम

सन्तोष गौतम

आइतबार, असोज ६, २०८१

vianetvianet

म्याग्दी- मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक अघिसम्म बर्खाको तीन महिना ४० देखि ५० भेडी गोठ हुन्थे। म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको चरन क्षेत्र बतासेमा यसपालि १५ वटा मात्र गोठ थिए। 

triton college

बतासेको खर्कबाट गत हप्ता थासाङ–३ लेतेमा भेडागोठ झारेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारीले बढ्दो विदेश र सहरमोहले घुम्ती गोठमा भेडाबाख्रा र गाईभैँसी पाल्ने चलन हराउन थालेको बताए। ६८ वर्षीय भण्डारीले ५४ वर्षदेखि घुम्ती गोठमा भेडापालन गर्दै आएका छन्। पाँच सयभन्दा बढी भेडाबाख्राको बथान लिएर बर्खामा लेक र हिउँदमा बेँसी गर्ने उन आफ्नो पुस्तासँगै गोठ बस्ने चलन पनि हराउने चिन्तामा छन्।

“देशभित्र काम गर्न लाज मान्ने तर विदेशमा अर्काको नोकर हुन तयार हुने संस्कारको विकासले गर्दा बूढापाकासँगै गोठहरू हराउन थालेका छन्”, उनले भने, “वृद्धहरूको भरमा गोठ धानिएका छन्।”

बाजेका पालादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको सङ्ख्या घटाउँदै गएका छन्। पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन सिकार आरक्षको पाटनमा भेटिएका विकले ३२ वर्र्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना सुनाए। 

“पहिले एक सय भेडाबाख्रासँगै आठ–दशवटा गाईभैँसीको गोठ लिएर बुकी र बेँसी गर्थे‌। गाईभैँसी बेचेर सकिए। चालीसवटा भेडाबाख्रा छन्”, उनले भने, “छोराछोरीले यो पेशा रोजेनन्। विदेशतिर लागे। बढ्दो बुढ्यौलीसँगै हिँडडुल गर्न गाह्रो हुन थालेकाले म पनि भएका भेडाबाख्रा बेचेर विश्राम लिने योजनामा छु।”

वृद्धहरूले धानेको घुम्ती गोठहरू उनीहरूको बढ्दो उमेरसँगै घट्दै गएका छन्। युवा र बयस्क उमेरका गोठाला भेटिँदैनन्। वैदेशिक रोजगारीप्रतिको आकर्षण, स्वदेशमै मेहनत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जीविकोपार्जनसँगै आम्दानीको राम्रो स्रोत घुम्ती पशुपालन पेशा सङ्कटमा परेको म्याग्दीको अन्नपूर्ण–१ दोवाका नेत्रप्रसाद राम्जालीले बताए। 

“गोठ बस्ने गोठाला पाइनै छाडे”, पाँच सय भेडा पालेका उनले भने, “भेडाबाख्रा बेचेर वर्षमा रु आठ लाख जति कमाई गर्न सकिन्छ, तर गोठ बस्ने मान्छे नपाएर समस्या हुन थालेको छ।” मुस्ताङमा भेडाच्याङग्रा र चौँरी गोठालालाई वार्षिक रु एक लाख ५० हजार तलब छ।  

गर्मी बढेपछि हिमाली क्षेत्रको जडीबुटीयुक्त चरन क्षेत्रको पोषिलो घाँस खुवाउन बुकीमा पशु चराउन लैजाने चलन छ। बुकीमा चरेका पशु निरोगी, मोटा हुने, दूध धेरै दिने र मासु स्वादिष्ट हुने राम्जालीले बताए। असारदेखि भदौसम्म लेकाली क्षेत्रमा रहने पशु गोठहरू चिसोसँगै बेँसीतर्फ झार्न थालेका छन्। अस्थायी टहरामा महिनौँसम्म घरपरिवारसँग सम्पर्कविहीन भएर पशुसँगै बुकीमा बस्न नयाँ पुस्ताले दुःख र झञ्झट मानेका छन्। 

धवलागिरि गाउँपालिका–३ मुनाका ७७ वर्षीय गङ्गाबहादुर पहरे पुनका अनुसार खेतबारीमा मल बनाउन, ‘गोरस’ (दूध, दही, मही र घ्यू), धार्मिककार्य र गोरुका लागि घरैपिच्छे गाई पालेर लेकबेँसी गर्ने चलन थियो। “कामको खोजीमा विदेश जाने क्रमसँगै गाउँमा गोठ बस्ने मान्छे पाइन छाडे”, उनले भने, “ट्रयाक्टर भित्रिएपछि गोरु नचाहिने भएकाले गाई पाल्ने चलन झनै घट्यो।” 

पहिले हरेक घरको एउटा गोठ हुने गरेकामा पछिल्लो समय गाईगोरु पाल्ने चलन घटेकाले एउटा टोलभरिको गाईवस्तु लिएर एक जना गोठमा जाने गरेको पुनले बताए। बर्खामा हिमालको फेदीका बुकी खर्कमा पुग्ने गोठ हिउँदमा बेँसीका फाँटमा झर्छन्। रासस

प्रकाशित: Sep 22, 2024| 08:20 आइतबार, असोज ६, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्