शुक्रबार, जेठ १५, २०८३

नौं वार्षिकोत्सवमा हाम्रो प्रण

 |  शुक्रबार, जेठ १५, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १५, २०८३

नेपाल समय मिडिया आज (शुक्रबार) ८ वर्ष पूरा गरेर नौं वर्षमा प्रवेश गरेको छ। नौं वार्षिकोत्सवको यस शुभ अवसरमा म आम पाठक, लेखक, विज्ञापनदाता, सहयोगी एवं शुभेच्छुक सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै संस्थामा आबद्ध पत्रकार र अन्य कर्मचारी साथीहरूप्रति विशेष आभार व्यक्त गर्दछु। उहाँहरूको परिश्रम, लगाव र मायाकै कारण संस्थाले यहाँसम्मको यात्रा तय गरेको हो।

National life

डिजिटल मिडियाको प्रतिस्पर्धी बजारमा एउटा संस्था जन्माएर आफ्नो पहिचान स्थापित गर्नु सजिलो काम होइन। प्रिय पाठकले देखाएको विश्वासका कारण हामीले यो ८ वर्षको अवधिमा एउटा पहिचान स्थापित गर्न सफल भएका छौं। डिजिटल मिडियाको यो भीडमा अलग पहिचान बनाइराख्न अनवरत खटिरहनुभएका पत्रकार साथीहरुप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सक्रियताको अपेक्षा राखेको छु। प्रिय पाठकको माया, सद्भाव र समालोचनात्मक प्रतिक्रियाले हामीलाई सधैं उत्साहित बनाइराख्ने उर्जा प्रदान गरिरहन्छ। 

पाठकको मायाले हामीमाथि नागरिकलाई अझ सुसूचित बनाउने दायित्व पनि थपिएको महसुस भएको छ। त्यसैले हामी अझै विशिष्टीकृत हुँदै जाने प्रयासमा छौं। मिडियाको प्रयासले नै आम नागरिकको जीवनस्तर, सोचाइ र समृद्धिमा योगदान पुग्नेमा हामी विश्वस्त छौं। डिजिटल मिडियाले समेट्नुपर्ने दायरा फराकिलो बन्दै गएको छ र यसप्रति पाठकका आशा, अपेक्षा र आकांक्षा पनि धेरै छन्। 

भ्रष्टाचार र अनियमितताविरुद्धको खबरदारी पनि सञ्चारमाध्यमको अर्को ठूलो जिम्मेवारी हो। यी सबैका अनिवार्य सर्त सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह नै हो। त्यसैले हामी निष्पक्ष पत्रकारिताप्रति निष्ठावान छौं र रहिरहनेछौं। कसैप्रति आग्रह-पूर्वाग्रह नराखी व्यावसायिक पत्रकारिता गर्नु हाम्रो मूल मन्त्र हो।

विगतमा पनि आम सञ्चारमाध्यमले लोकतन्त्र प्राप्ति, राजनीतिक संक्रमणकालको अन्त्य र दिगो शान्तिका लागि वकालत गरेको इतिहास छ। नागरिक अधिकार तथा मुलुकको सामाजिक एवं आर्थिक विकासका मुद्दामा हाम्रो वकालत अनवरत रहनेछ। 

Shivam cement

नेपाल समय मिडियाको यस नौं वार्षिकोत्सवको शुभ अवसरमा नेपाल समय डटकम अनलाइन न्युज पोर्टल लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै सत्य–तथ्य सूचना सम्प्रेषणमा निर्भीकतापूर्वक सक्रिय रहिरहने विश्वास दिलाउन चाहन्छु। साथै १८ औं गणतन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। धन्यवाद।

तरुणप्रताप शाह
निर्देशक, नेपाल समय मिडिया प्रा.लि.

प्रकाशित: May 29, 2026| 14:11 शुक्रबार, जेठ १५, २०८३
प्रतिक्रिया दिनुहोस्