सोमबार, असोज २१, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

लोक संस्कृतिको अभिन्न अंग इन्द्रजात्रा

 |  सोमबार, भदौ ३१, २०८१
nespernesper

राममणि सिटौला

राममणि सिटौला

सोमबार, भदौ ३१, २०८१

काठमाडौं- संसारका मोहनजोदाडो, हरप्पा, सिन्धु, गङ्गा, रोम आदि सभ्यता नदीकै किनारामा विकास भएका छन्।

triton college

हाम्रो देशमा पनि गण्डकी, कोसी, कर्णालीलगायत कैयौँ सभ्यता नदीका किनारमा भएका छन्। बागमती सभ्यता नदीका किनारमा विकास भएको हाम्रो प्रमुख सभ्यता हो। सभ्यता भनेको मानवको बाह्य प्रवृत्तिमूलक प्रेरणाले जे विकास भएको छ, त्यही हो। त्यसको अन्तर्मुखी प्रवृतिले जे विकास हुन्छ, त्यो संस्कृति हो।

बागमती सभ्यताभित्र विकास भएको प्रमुख लोकसंस्कृतिमा इन्द्रजात्रा पनि पर्छ। संस्कृति ब्रह्म झैँ अवर्णनीय हुन्छ, व्यापक तत्त्वबोध गराउने खालको हुन्छ, जीवनको विविध प्रवृत्तिसँग सम्बन्धित हुन्छ। त्यसलाई लोकले अपनाएको हुन्छ।

लोक भनेको ती सर्वसाधारण जन हुन् जसको व्यक्तिगत पहिचान नभएर सामूहिक हुन्छ। यी सबैको मिलिजुली संस्कृति नै लोकसंस्कृतिका रूपमा कहलिएको हुन्छ। बाहिरबाट झट्ट हेर्दा लोकमानसका अलग अलग रहनसहन, खानपान, वेशभूषा हुन्छ तर ती सबैलाई लोकसंस्कृतिरूपी एउटा धागाले मालाका रूपमा उनिरहेको हुन्छ। इन्द्रजात्रा यस्तै प्रकारको लोकसंस्कृतिको एक अङ्ग हो।

‘इन्द्र’ शब्द लोकको जिब्रामा झुन्डिएको छ। ‘इन्द्र’ फूलहरूमा इन्द्रकमलका रूपमा चिनिन्छन्। यसबारेमा त लोकगीत नै छ, 'इन्द्रकमल फूलको हजुर बोटै मरिगयो, चल्नै छाड्यो बासना', 'यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो, मगमग चल्यो बासना' आदि। तलाउमा मकवानपुर, मार्खुस्थित इन्द्रसरोवर चर्चित छ। वर्षात्मा इन्द्रधनुष र इन्द्रेणीका रूपमा उनकै नाम जोडिएर आउँछ।

Metro Mart
vianet

ऋग्वेदमा ‘इन्द्र’ लाई शक्तिशाली देवताका रूपमा बताइएको छ। उनले मानवताको विकास र कल्याणका निम्ति अनेकौँ कार्य गरेको उल्लेख छ। नदीलाई दिशा प्रदान गरेर, पर्वतबाट निस्किएका जलका धारालाई नियन्त्रण गर्दै नदी–समुद्रलाई व्यवस्थित गर्ने काम ‘इन्द्र’ ले नै गरेका थिए।

ऋतुअनुसार बादल, बिजुली, वर्षात्, हुस्सु, कुहिरो आदिलाई व्यवस्थित तरिकाले मानव जातिमा सञ्चार गर्नमा पनि उनकै योगदान छ भनिन्छ। वैदिक युगमा ‘इन्द्र’ सर्वश्रेष्ठ देवता मानिन्थे। ‘इन्द्र’ को व्यक्तित्वलाई लिएर मानिसमा एउटा भ्रान्ति छ। इन्द्रको स्थिति सधैँ संदिग्ध छ।

वैदिककालबाट आजसम्म आइपुग्दा ‘इन्द्र’ बारे धेरै कथा सामुन्ने आइपुगेका छन् जसले उनी कुनै व्यक्ति नभएर पदवी हो भन्ने प्रस्ट पार्छ। ‘पुराण’ कथाको चौधौँ मन्वन्तरमा यज्न, विपस्यति, शिवि, ऋतुधाम, देवास्पति, शुचि, पुरन्दर, अदभुुत शान्ति, वाली आदि चौध अलग अलग ‘इन्द्र’ का बारेमा वर्णन गरिएको पाइन्छ। ‘पद्म पुराण’ मा एक श्रापबाट मुक्त हुनका निम्ति हजारौँ वर्ष तपस्या गर्न जाँदा धर्तीका प्रतापी राजा नहुषलाई स्वर्गमा बोलाएर ‘इन्द्र’ को पदवी दिइएको उल्लेख छ।

सबै ‘इन्द्र’ को छवि नकारात्मक मात्र छैन। जसले आफू जीवित छँदै अश्वमेध, राजसूय यज्ञ गर्न सक्छ, ऊ नै ‘इन्द्र’ पदको अधिकारी हुन्छ। सनातन धर्ममा अरू देवीदेवता झैँ इन्द्रको मूर्ति बनाएर पूजा गर्ने परम्परा नभए पनि देवराज ‘इन्द्र’ सनातन धर्मका अभिन्न अङ्ग हुन्। साङ्केतिक रूपमा भन्नुपर्दा जसले इन्द्रियलाई जित्न सक्यो, त्यसले ‘इन्द्र’ पद पायो, जसले इन्द्रियलाई वशमा राख्न सकेन, ‘इन्द्र’ पदबाट च्युत भयो।

indra_jatra767-1726477832.jpg
काठमाडौँ, भक्तपुर, ललितपुर आदि स्थानमा नेवार जातिमा प्रचलित इन्द्रजात्रा पनि उनै देवराज ‘इन्द्र’ मा समर्पित उत्सव, आराधना र जात्रा हो। इन्द्रजात्रामा नेवार जातिले सहकालका देवता इन्द्रको पूजाराधना गरेर मनाउने गरेको पाइन्छ। यो जात्राको उद्गमस्थल भनेको १२ औं शताब्दीमा बनेको अनेकौँ मठमन्दिरले सजिएको हनुमान ढोका क्षेत्र हो। जब यस क्षेत्रमा लिङ्गो ठडाएर इन्द्रध्वज स्थापना गरिन्छ, तब इन्द्रजात्रा प्रारम्भ भएको मानिन्छ।

इन्द्रजात्राबारे लोककिंवदन्ती यस्तो छ- जब ‘इन्द्र’ की आमा बसुन्धरालाई विशेष पूजाका निम्ति पारिजात फूलको आवश्यकता पर्‍यो, उनी स्वर्गलोकबाट ऐरावत हात्तीमा पृथ्वीलोकमा आए। उनी मानव रूप धारण गरेर यहाँको बगैँचाबाट पारिजातको फूल टिप्न थाले। फूल टिप्न लाग्दा उनलाई चोर भनेर समातियो र बाँधियो। त्यतिखेर ‘इन्द्र’ मानव रूपमा थिए, उनलाई ‘इन्द्र’ भनेर मानिसले चिनेका थिएनन्।

‘इन्द्र’ बाँधिएको थाहा पाएपछि उनकी आमा बन्धनबाट मुक्त गर्न आइन्। उनले आफ्ना छोरा ‘इन्द्र’ भएको रहस्य खोलिन्। जब मानिसले ‘इन्द्र’ भन्ने थाहा पाए, तब पछुतामा डुबे। काठमाडौँमा शीत र कुहिरो लगाइदिने वाचा गर्दै ‘इन्द्र’ बन्धन मुक्त भएर स्वर्ग गए। कुहिरो र शीतले गर्दा आर्द्रता पाएर समयमा नै धानबाली पाक्न थाल्यो। त्यही दिनबाट इन्द्रजात्रा मनाउन थालियो।

इन्द्रजात्रामा जुन इन्द्रध्वजोत्थान गरिन्छ यसबारेमा ‘महाभारत’, ‘हरिवंशपुराण’, ‘कालिका पुराण’, ‘देवी पुराण’ आदिमा उल्लेख छ। प्राचीनकालमा देवता र दैत्य ठुलो युद्धको तयारीमा लागे। त्रिदेव, सम्पूर्ण देवगण मिलेर ‘इन्द्र’ लाई विजयी गराउनलाई ध्वजा बनाएर त्यसको पूजा गर्दै इन्द्रलाई हस्तान्तरण गरे।

इन्द्रले समातेकाले त्यसलाई इन्द्रध्वज भनियो। देवता र दानवका युद्धमा ‘इन्द्र’ ले विजय प्राप्त गरेपछि इन्द्रध्वज पूजाले निरन्तरता पायो। देवराज इन्द्रले उक्त ध्वजा पृथ्वीका राजा उपरिचर वसुलाई दिएपछि उनले सहजै विजय हासिल गरेको उल्लेख छ। यही खुशीयालीमा इन्द्रध्वज स्थापना गरेर यो पर्व मनाउन थालिएको हो भन्ने पनि लोकविश्वास छ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका अगाडि इन्द्रध्वजसहितको लिङ्गो ठड्याएपछि विधिवत् रूपमा यो जात्रा प्रारम्भ हुन्छ। जात्रा विभिन्न प्रकारको नाचगान, रथयात्रा, देवीदेवताको पूजा गरी लगातार आठ दिनसम्म मनाइन्छ। यस जात्रामा काटिने रुख भनेको काभ्रेपलान्चोकको उग्रचण्डी नालामा तान्त्रिक विधिद्वारा छाडिएको बोकाले छोएको रुख हो।

हनुमान ढोकाको कालभैरवको मूर्ति अगाडि विधिवत् पूजाआजा गरेपछि जात्राको चहलपहल सुरु हुन्छ। लिङ्गामा नेपालभाषामा मङ्गलसूचकका विभिन्न चिह्नाङ्कित पताका झुन्ड्याइन्छ। लिङ्गाको फेदमा ऐरावत हात्तीमा चढेका सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गरिन्छ। यतिखेर नेपाली सेनाको ब्यान्ड, गुर्जुको पल्टन र पञ्चैबाजाद्वारा मङ्गलधुन बजाइन्छ।

हनुमानढोका दरबार क्षेत्रमा अवस्थित श्वेत भैरवको मन्दिर सर्वसाधारणका लागि दर्शन र पूजाका निम्ति खुला गरिन्छ। इन्द्रजात्रा सुरु भएपछि जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने प्रचलन पनि छ। रथ तान्ने परम्परा काठमाडाँैका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले चलाएको भन्ने इतिहासमा उल्लेख छ।

आठ दिनसम्म चल्ने यस जात्रामा भक्कुनालचोकको सबभकुमा भक्तपुरको महाकाली नाच देखाइन्छ भने दशावतार तथा ‘इन्द्र’ को प्रतीकका रूपमा किलागलमा पुलुकिसी नाच देखाइन्छ। यतिखेर दहचोकको इन्द्रदहमा पनि दर्शनार्थीको घुइँचो लाग्छ।

शदियौंँदेखि रातभर जाग्राम बसेर सोे दहमा स्नान गर्ने परम्परा छ। वास्तवमा इन्द्रजात्रा सनातन धर्मकै विभिन्न देवीदेवताको उत्सव, जात्रा हो। यतिखेर कुमारी घर अगाडि त्रिलोक नारायणको मन्दिरमा विष्णुले लिएको दश अवतारहरु देखाइन्छ।

वर्षभरि दिवङ्गत भएका आत्माको सुखावती भुवनमा बास होस् भन्ने कामना गर्दै, दियो दान गर्दै, धरणी स्तोत्र पाठ गर्दै सहर परिक्रमा गरिन्छ। विक्रम संवत् ३८८मा राजा मानदेवले राजमाता राज्यवतीको पुण्य बढोस् भनेर निर्माण गरेको तिलगङ्गामा रहेको विष्णु विक्रान्तको मूर्तिमा पूजार्चना गरिन्छ, दियो दान गरिन्छ।

इन्द्रजात्राको प्रमुख आकर्षण भनेको समयबजी हो। यतिखेर नेवार समुदायमा समयबजी खाने परम्परा छ। अन्तिम दिन नानिचायः भन्दै वसन्तपुरदेखि प्याफल, किलागल, नरदेवी, असन, इन्द्रचोक, वसन्तपुरमा ल्याएर बेलुकाको साइतमा लिङ्गो ढालेपछि विधिवत् रूपमा इन्द्रजात्रा समापन हुन्छ।

वास्तवमा लोकमा चल्ने इन्द्रजात्रा झैँ उत्सव, जात्राहरू समाजको प्राचीन रूपलाई चियाउने आँखीझ्याल हो। यसले इतिहासलाई प्रतिविम्बका रूपमा प्रस्तुत गर्छ। यस्ता संस्कृतिमा सामान्य जनताको दृष्टिकोणलाई ध्यानमा राखेर ऐतिहासिक घटनाको वर्णन गरिएको हुन्छ।

हाम्रो समाजको ढाँचा, प्रथा, परम्परा, रीतिरिवाजज आदि यस्ता जात्रामार्फत बुझ्न सकिन्छ। यस्ता संस्कृतिले एकताको भावनालाई मजबुत बनाउँछ, सामाजिक दूरीलाई निकट ल्याउने काम गर्छ। जब हामी यस्ता जात्रामा भाग लिन्छौँ, तब हामीभित्र भावनात्मक सन्तुष्टि र खुसीको सञ्चार हुन थाल्छ।

इन्द्रजात्रा जस्ता संस्कृतिले सामाजिक एकताका लागि एउटा धागाको काम गर्दै आएको छ। यसले समाजको तानाबाना बुन्दै सांस्कृतिक विविधता, राष्ट्रिय एकताको भावनालाई पनि प्रश्रय दिएको छ।    
(लेखक लोक संस्कृतिका जानकार हुन्)    -रासस

प्रकाशित: Sep 16, 2024| 14:56 सोमबार, भदौ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्