आइतबार, जेठ १७, २०८३

जसले सारंगी रेटेरै सात छोरी हुर्काए-पढाए

 |  सोमबार, भदौ २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २४, २०८१

देउखुरी (दाङ- टालेको झुत्रो झोला, हातमा सारङ्गी। त्यही सारङ्गी रेट्दै घरघरमा मिठो धुन सुनाउँदै हिँडेका सल्यान खलङ्गाका ५५ वर्षीय लालबहादुर गन्धर्व हालै यहाँको घोराही बजार आइपुगेका छन्।

National life

“सारङ्गी रेटेर धुन बजाउँदै गीत गाउन थालेको ४० वर्षभन्दा धेरै भयो, सारङ्गी बजाउँदा आफू अझै जवान भएजस्तो लाग्छ, सारङ्गीको घुन निकालेपछि झन् जोशजाँगर बढेर आउँछ,” उनी भन्छन्। सल्यान, दाङ, रोल्पा, रुकुम र काठमाण्डौँ लगायतका शहर तथा बस्तीमा पुगेर सारङ्गी बजाएर गीत गाउने गरेको उनले बताए।

घरमा सानै उमेरदेखि बाउबाजेबाट सारङ्गी रेट्ने सीप सिकेका लालबहादुरले १५ वर्षको उमेरदेखि यही पेसा अपनाए। “हिजोआज कसैले राम्रो मानेर गीत सुन्न खोज्छन् त कसैले बाहिरबाट पठाउँछन्,” उनले भने।

जग्गा जमिन केही नभएपनि सारङ्गीको धुन र गीत गाएरै परिवारको जिविका चलाउँदै आएको उनको भनाइ छ। उनले सात वटी छोरीमध्ये पाँचको विवाह गरिसकेका छन्। दुई छोरी तुलसीपुर– १७ स्थित मावि दुधरासमा कक्षा आठ र ११ मा पढ्छन्। आफूले नपढे पनि छोरीलाई पढाउने सोचाइ रहेको उनले बताए। गीत गाएर दिनमा एक हजारदेखि तीन हजारसम्म कमाउने गर्छन्। समाजबाट लोप हुँदै गएको गन्धर्व जातिको पुरानो मौलिक संस्कृति धान्न गाउँगाउँमा पुग्ने गरेको उनले बताए।

अहिलेसम्म घुमेको ठाउँमा रोल्पा सबै भन्दा राम्रो लागेको स्मरण गरे। रोल्पामा गाइने आयो भने चाडवर्प आए जस्तो हुन्छ भनेर सिदा (चामल, दाल) दिने गरेको उनले बताए। सारङ्गी बजाउन युवा पुस्ताले चासो नदिँदा गन्धर्व पेशा लोप हुने चिन्ता उनलाई छ। “मेरा छोरीले बजाउँदैनन् म पछिको पुस्ताले सारङ्गी छुदैनन्,” उनले भन।

Shivam cement

गाइनेको रुपमा हिँड्दा एकातिर संस्कृति संरक्षण अर्कोतिर रमाइलो गरी जीवन चलिरहने र देशका विभिन्न ठाउँ हेर्ने अवसर मिल्ने उनको अनुभव छ। उनी गीतकै माध्यमबाट आफ्ना भावना पनि व्यक्त गर्छन्।

पछिल्ला समय सारङ्गी रेटेर गाउँगाउँमा गीत गाउँदै हिँड्ने गन्धर्वको सङ्ख्या घट्दो छ। केही पाकापुस्ताले संस्कृति जेनतेन धान्दै आए पनि गन्धर्व समुदायका युवापुस्ताले चासो दिएको पाइँदैन।

प्रकाशित: Sep 09, 2024| 10:12 सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्