आइतबार, जेठ १७, २०८३

पोखरा आसपासमा गिद्धको संख्या २२ प्रतिशतले बढ्यो

 |  आइतबार, भदौ २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २३, २०८१

गण्डकी- गत वर्षको तुलनामा पोखरा आसपासका क्षेत्रमा गिद्धको सङ्ख्या २२ प्रतिशतले बढेको छ। अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा गरिएको गणनामा गिद्धको सङ्ख्या २२ प्रतिशतले बढेको पाइएको हो।

National life

पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेका अनुसार यहाँस्थित पक्षी समाजले हरेक वर्षजस्तै यसवर्ष पनि पोखरा आसपासका क्षेत्रमा गिद्धको गणना गरेको थियो।

सन् २०२३ मा तीन सय ८७ गिद्ध अद्यावधिक गरिएकामा यसवर्ष यो सङ्ख्या बढेर चारसय ७१ पुगेको उनले जानकारी दिए। अध्ययनका क्रममा तनहुँ क्षेत्रमा पनि गिद्धको सङ्ख्या बढेको उनले बताए।

कास्कीको घाचोक, बाच्छेबुडुवा, पुम्दी-भुम्दी, विजयपुर खोला करिडोर, लामेआहाल तथा तनहुँको गाछेपानी, सिशुवा/भतेरी र दमौली ल्याण्डफिलसाइट एकैपटक आठ स्थानबाट छुट्टाछुट्टै टोलीले गणना गरेको घिमिरेले जानकारी दिए।

संकटापन्न गिद्धको सूचीमा रहेको सेतो गिद्ध सबैभन्दा धेरै बढेको देखिएको छ भने अति-संकटापन्न सूचीमा रहेको सुन गिद्ध, सानो खैरो गिद्ध र डङ्गर गिद्धको सङ्ख्यामा पनि सामान्य वृद्धि भएको पाइएको छ। राज गिद्ध यथास्थितिमा छ भने हिमाली गिद्ध घटेको अध्ययनले देखाएको छ।

Shivam cement

सरकारले गिद्ध संरक्षणका लागि ‘गिद्ध संरक्षण कार्ययोजना २०२३-२०२९’ लागु गरेको छ। साथै देशभरका चरा तथा वन्यजन्तु संरक्षणमा लागिपरेका संघसंस्थाले विविध कार्यक्रम आयोजनागरी अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाएका छन्।

सरकारले विसं २०६३ देखि गिद्धलाई अति हानिकारक मानिएको ‘डाइक्लोफेनेक’ (पशुको उपचारमा प्रयोग गरिने औषधि) प्रतिबन्ध लगाएसँगै गिद्धको सङ्ख्या क्रमिक रुपमा वृद्धि हुँदै गएको घिमिरेले जानकारी दिए।

सिनोमा हुने विषादी, हाइभोल्टेज तथा बिजुलीका तारमा ठोक्किएर मर्नेक्रम भने लगातार बढिरहेको उनले बताए। समाजले सन् २०१७ देखि पोखरा आसपासमा गिद्धको सङ्ख्या अध्यावधिक गर्दै आइरहेको छ। रासस

प्रकाशित: Sep 08, 2024| 19:31 आइतबार, भदौ २३, २०८१
प्रतिक्रिया दिनुहोस्