बिहीबार, भदौ ४, २०८३

माटाका भाँडा बनाउन छाड्दै नवलपरासीका प्रजापति समुदाय

 |  आइतबार, भदौ २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २३, २०८१

नवलपरासी- नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा बसोबास रहेको प्रजापति समुदायले पछिल्लो समय माटाका भाँडा बनाउन छाडेको छ। दाउराको मूल्य बढेपछि प्रजापति समुदायले माटाका भाँडा दियो, गाग्री, घोलक, गमलालगायत बनाउन छाडेका हुन्। 

प्रजापति समुदाय माटाका भाँडा बनाउन छाडेर अन्य काममा लागेका पाल्हीनन्दन गाउँपालिका‐५ का वडाध्यक्ष दयाशंकर त्रिपाठीले बताए। 

पाल्हीनन्दनका अधिकांश प्रजापति समुदायले माटाका भाँडा बनाउने र बिक्री गर्ने कार्यलाई मुख्य व्यवसाय बनाएका थिए। पूजाआजामा बढी प्रयोग हुने भएपछि माटाका भाँडा बनाउने तथा ग्राहकको घरघरमा पुर्याउने गर्दैआएका थिए। दाउराको मूल्य बढेपछि माटाका भाँडा पकाउन असहज भएको उनीहरुको भनाइ छ। घाटा बेहोर्नु परेको भन्दै अहिले उनीहरूले यसको व्यापार छाडेको वडाध्यक्ष त्रिपाठीले बताए।

विद्युुतीय बत्तीको प्रयोगले माटाका दियो र भाँडाको प्रयोगलाई विस्थापित गरेपछि उक्त काम छाडेर वैदेशिक रोजगार तथा अन्य काममा लाग्नुपरेको पाल्हीनन्दन‐५ का ७४ वर्षीय भिखन प्रजापतिले बताए। उनका अनुसार माटाको दियो तथा भाँडा पकाउने दाउराको मूल्य बढेपछि घाटा बेहोर्नु परेकाले स्थानीय माटाका भाँडा बनाउने काम छाडेर अरु काममा लागेका छन्। 

केही वर्ष पहिला पाल्हीनन्दन गाउँपालिकाले ५० प्रतिशत अनुदानमा भाँडा बनाउने प्रजापति समुदायलाई आठ मेसिन वितरण गरेको थियो। दिपावली र छठ पूजामा बढीजसो माटाका दियो प्रयोग गर्ने चलन छ। अन्य बेला पनि पूजाआजा तथा घरायसी प्रयोजनका लागि यसको प्रयोग गरिन्छ।

स्थानीय तहले माछापालनका लागि पोखरी ठेक्कामा दिएको र ठेकेदारले पोखरीमा पानी भरेपछि आफूहरूलाई माटो झिक्न नमिल्ने भएपछि प्रजापति समुदायलाई माटाका भाँडा बनाउन समस्या भएको छ।  

माटाका भाँडा बनाउन स्थानीय तहले केही प्रतिशत छुटमा वन कार्यालयबाट दाउरा उपलब्ध गराए पनि यो प्रर्याप्त नभएको सो समुदायको गुनासो छ। रासस

प्रकाशित: Sep 08, 2024| 18:01 आइतबार, भदौ २३, २०८१
प्रतिक्रिया दिनुहोस्