शनिबार, चैत २१, २०८२

कञ्चनपुरमा गिद्ध गनिँदै

 |  शनिबार, भदौ २२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २२, २०८१

कञ्चनपुर-  सोह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा आज कञ्चनपुरमा गिद्ध गणनाको कार्य भइरहेको छ।  

National life

नेपाल पन्छी संरक्षण सङ्घको आर्थिक सहयोगमा गिद्ध पाइने सम्भावित क्षेत्रमा गणकलाई खटाएर गणना भइरहेको हो। अवलोकन, गणना र सचेतना प्रवाह गरी गिद्ध दिवस मनाउन लागिएको चरा विज्ञ हिरुलाल डगौराले बताए।

उनका अनुसार गिद्ध गणना कार्यक्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा नेचर गाइड एशोसिएशन, एनटिएनसी, कञ्चनपुर चरा संरक्षण समूह, बेलौरी नगरपालिकास्तरीय युवा सञ्जाल लगायतका प्रतिनिधि सहभागी छन्। गिद्ध गणना बिहानदेखि सुरु गरिएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटा, भतपुरी, तारापुर, निकुञ्जको शुक्लाफाँटा घाँसे मैदानसँगै निकुञ्ज बाह्य क्षेत्रको बन्साहा, पर्सिया, कञ्ज, झिलमिला, बेलडाँडी, किसान मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गणना गर्ने कार्यक्रम रहेको छ।

 योसँगै कैलालीको खुटिया क्षेत्र र बेलीपतेला क्षेत्रमा पनि गणना भइरहेको छ। पाँचदेखि १० जनासम्मको टोलीमा गणकलाई विभाजन गरी गणना अगाडि बढाएको चरा विज्ञ डगौराले जानकारी दिनुभएको छ। “गणकहरुलाई गिद्ध देख्न सकिने सम्भावित क्षेत्रमा पठाएका छौँ”, उनले भने, “एक ठाउँबाट गणना गर्नका लागि कम्तीमा आधा घण्टा बसेर गणना गर्छौ, हिँड्दा हिँड्दै गणना गर्नका लागि एक घण्टा प्रति किलोमिटरभन्दा कम चालमा गणनाको कार्य हुन्छ।”

kumari

गणकहरुले गिद्धका प्रजाति छुट्टयाइ सङ्ख्याका साथै क्रियाकलाप (सिनो खाएको, घाम तापेको, पानी खाएको वा नुहाएको, आकाशमा उडेको, झगडा गरेको आदी) अभिलेख राख्ने कार्यसँगै गिद्धलाई हुन सक्ने खतरा र चुनौतीको अभिलेख गर्ने, गिद्धका प्रजाति र उमेर समूह पहिचान सहयोगको लागि पुस्तक, पोस्टर, मर्लिन एपको प्रयोग गरी फोटो तथा भिडियो खिच्ने कार्य गरिने बताईएको छ।

गिद्ध गणनाका लागि बिहान ७ बजेदेखि ११ बजे र साँझ ३ बजेदेखि ६ बजेसम्मको समय निर्धारण गरिएको छ। यस अघिको सर्भेमा कञ्चनपुरमा गिद्धका एक सय २० बढी गुँड फेला परेका थिए। यसमध्ये लोपोन्मुख अवस्थामा पुगेको डंगर गिद्धका मात्रै एक सय १४ गुँड फेला परेका थिए।

कञ्चनपुरमा तीन सयदेखि चार सयको हाराहारीमा गिद्ध रहेको चरा विज्ञहरुको अनुमान रहेको छ। नेपालमा नौ प्रजातीका गिद्धहरु पाइने जनाइएको छ। यसमा डंगर, सानो खैरो, सेतो हिमाली, लामो ठुडे, सुन, हाडफोर, खैरो र राज गिद्ध रहेका छन। प्रत्येक वर्षको सेप्टेम्बर महिनाको पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइने गरिन्छ। नेपालमा सप्ताहव्यायी रुपमा १ देखि ७ सेप्टेम्बरसम्म गिद्ध दिवस मनाइँदै छ। 

प्रकाशित: Sep 07, 2024| 17:44 शनिबार, भदौ २२, २०८१
प्रतिक्रिया दिनुहोस्