काठमाडौंको भृकुटी मण्डपमा आयोजना गरिएको टाटा डट ईभीद्वारा प्रायोजित नाडा अटो शो २०२४ आइतबार सम्पन्न भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट शुभारम्भ भएकोे यस १६ संस्करणको नाडा अटो शो २०२४ मा ८२ हजार ४ सय ७० दर्शकहरूले अवलोकन गरेको आयोजकले दाबी गरेका छन्।
प्रदर्शनीमा उत्कृष्ट रुपमा सिँगारिएका स्टल र अन्तर्राष्ट्रिय रुपमा नाम चलेका लेटेस्ट मोडेलका सवारीसाधनहरूका कारण यो प्रदर्शनी गत वर्षहरूको भन्दा निकै भव्य रूपमा सञ्चालन भएको बताइएको छ। थुप्रै नयाँ ब्रान्डका विद्युतीय सवारीसाधनहरूको सहभागिताका कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको थियो। यो अटो शो विगतमा भन्दा निकै भव्य र बृहत् भएको अवलोकनकर्ताहरूले समेत टिप्पणी गरेका छन्।
अत्यन्तै सुस्ताइरहेको अटोमोबाइल व्यवसायका बावजुद पनि आयोजना गरिएको यो अटो शोले देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन सहायकसिद्ध भएको छ।
यसपटकको अटो शोमा स्टल निर्माणमा सबै कम्पनीले निकै मिहिनेत गरेको देखिन्छ। त्यसैगरी, यो प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल सीजी मोेटर्स प्रालि रिडराले जितेको छ र उत्कृष्ट दुईपाङ्ग्रे सवारीसाधनतर्फको स्टल वैद्य इनर्जी प्रालि अथेरले जितेको छ। त्यसैगरी, लाइट कमर्सियल भेहिकलको बेस्ट स्टल अवार्ड एमएडब्लू प्रालि सोकोनले जितेको छ। त्यसैगरी बेस्ट कम्पोनेन्टको पुरस्कार सत्यदीप इन्टरनेसनल प्रालि भिडोलले जितेको छ।
नाडाले उत्कृष्ट स्टलहरूको छनोट गर्न नाडाका सहकोषाध्यक्ष पंकज अग्रवाल, जाम रइमानका प्रतिनिधि तथा नाडा अटो शोको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिस प्रालिका प्रतिनिधिसमेत सदस्य रहने गरी चार सदस्यीय बेस्ट स्टल छनोट समितिसमेत गठन गरेको थियो।
नाडा अटो शो २०२४ का सहप्रायोजकमा शिखर इन्स्योरेन्स, टिकेटिङ पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वर्ल्डलिङ्क रहेका थिए। यस वर्षको थप आकर्षणमा हिरो जुम स्कुटरले लक्की ड्र गरी एक जना भाग्यशाली अवलोकनकर्तालाई उपहार दिने व्यवस्थासमेत गरेको थियो। विजेताले आफ्नो टिकटसहित नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको सचिवालय टेकुमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ।
समापन कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरी, निवर्तमान अध्यक्ष डा. ध्रुव थापा, पूर्वअध्यक्ष, वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा प्रदेश उपाध्यक्षद्वय पुष्कर ओझा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ तथा निराकार श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानियाँ, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवालले १३५ कम्पनीहरूलाई क्रमशः मोमेन्टोसमेत वितरण गरेका थिए।
नाडाका अनुसार उक्त प्रदर्शनीको ट्राफिक व्यवस्थापनको कार्य काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले गरेको थियो। त्यसैगरी सो प्रदर्शनीको फायर सेफ्टीको सम्पूर्ण कार्य नाडाकै सदस्य कम्पनी हिटको प्रालिले गरेको थियो र प्रदर्शनीको प्रचारप्रसारको कार्य एभरेस्ट एडले गरेको थियो।
नाडा अटो शो २०२४ कै सन्दर्भमा नाडाले रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो। नाडा केन्द्रीय कार्यसमिति सदस्य प्रकाश कपुरीको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा ६३ जनाले रक्तदान गरेका थिए।
समापन कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२४ लाई सफल बनाउन सहयोग पुर्याउने सबै सरोकारवाला कम्पनी र संस्था सबैलाई धन्यवाद दिए। नाडा अटो शो २०२४ सम्पन्न गर्न अध्यक्ष चौधरीकै अध्यक्षतामा पाँचसदस्यीय नाडा अटो शो २०२४ व्यवस्थापन समिति गठन गरिएको थियो। ६ दिनसम्म चलेको सो प्रदर्शनीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले समेत अवलोकन गरेका थिए। ६ दिनसम्म चलेको सो नाडा अटो शो २०२४ को अवसरमा जाम र इमानका तर्फबाट टक शो कार्यक्रमसमेत आयोजना गरिएको थियो।