शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

नदी कटानले बस्ती जोखिममा

 |  बिहीबार, भदौ १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १३, २०८१

कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० को अन्तिम बस्ती कुतियाकवर उच्च जोखिममा छ।

himalayan bank box

तीनतिर महाकाली नदी र एकतर्फ जोगबुढा नदीले घेरेको यो बस्ती महाकाली र जोगबुढा नदीको निरन्तरको कटानले बस्ती नै नदीमा समाहित हुने जोखिममा छ।

भारतसँग सीमा जोडिएको यो बस्तीमा महाकाली नदीको लगातारको कटानले ठूलो क्षति गरेको छ। स्थानीयका अनुसार असारयताको बाढीले दुई बिघा जग्गा नदीमा समाहित भइसकेको छ। पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ।

बस्तीलाई नहेरे पनि सरकारले आफ्नो भूमि जोगाउन पनि कटान रोक्ने उपाय खोज्नुपर्ने यहाँका स्थानीय खड्के बुढा बताउँछन्। 'नदी कटानले गाउँ नै जोखिममा परेको छ। अहिलेसम्म राज्यबाट नदी नियन्त्रणका लागि कुनै पहल हुन सकेको छैन', उनले भने, 'यहाँ अवलोकनका लागि सांसद मन्त्री धेरै पटक आउनुभयो तर नदी नियन्त्रणका लागि कुनै प्रयास भएन।'

उनले सिमाना जोगाउन पनि सरकारले नदीमा तटबन्ध निर्माण गर्नुपर्ने बताए।

Metro Mart
vianet

विसं २०७४ मा जोगबुढा नदीमा झोलुंगे पुल बनेपछि नगरसँग जोडिएको कुतियाकवरमा बर्सेनि जोगबुढा र महाकाली नदीले जमिन कटान हुँदै आएको छ। 'अहिले पनि महाकाली नदीले निरन्तर कटान गरिरहेको छ। कुन दिन बस्ती नै नदीमा समाहित हुन्छ भन्ने चिन्ता छ', स्थानीय टेकबहादुर सुनारले भने, 'नदीले बर्सेनि खेतीयोग्य जमिन कटान गर्दै आएको छ।'

विसं २०२० मा बसेको बस्ती बाढीको निरन्तर कटान र डुबानकै कारण हालसम्म यहाँबाट एक सयभन्दा बढी परिवार विस्थापित भइसकेका छन्। 'पहिला यहाँ डेढ सय बढी परिवारको बसोबार रहेको थियो', सुनारले भने, 'कटानले बस्ती नै जोखिममा परेपछि धेरै यहाँबाट बसाइँ सरेर गइसक्नुभयो। अहिले ५५ परिवार मात्रै यहाँ बस्दै आएको छ।' जग्गा कटान गर्दा बस्ती पातलिँदै गएको उनको भनाइ छ।

दोधारा चाँदनी नगरपालिका-१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले गत वर्ष जोगबुढा नदीमा दुईसय २० मिटर तटबन्ध निर्माण भएको बताए। 'यस वर्ष पनि तटबन्ध निमार्णका लागि पहल गरिराखेका छौ', उनले भने, 'कुतियाकवर बस्ती जोगाउनका लागि लागेका छौँ।'

सानो सङ्ख्यामा रहेपनि दशकदेखि बिनाबर्दीको सिपाहीको रुपमा सिमानामा माटो रक्षा गरिरहे पनि राज्यले आफुहरुका लागि कुनै सुविधा उपलब्ध नगराएको स्थानीयको गुनासो छ। जोगबुढा र महाकाली नदीको कटानले कुतियाकवर मात्रै होइन बस्ती नै नदीमा समाहित भएर दक्षिणतर्फ जोगबुढा नदी सीमा नदी बन्ने चुनौती थपिएको स्थानीय बताउँछन्।

करिब ५० बिघा क्षेत्रफल रहेको बस्ती हरेक वर्ष हुने कटानले साँघुरिँदै गएको छ। हिजोआज पनि बस्तीको पश्चिमतर्फ महाकाली नदीले नियमित कटान गरिरहेको छ। नदी कटानकै कारण सीमा स्तम्भ नं २२ लामो समयदेखि हराइरहेको छ।

स्थानीयका अनुसार नदी कटानकै कारण २२ नम्बर पिल्लर भएको ठाउँमा अहिले महाकाली नदी बगिरहेको छ। रासस

प्रकाशित: Aug 29, 2024| 21:31 बिहीबार, भदौ १३, २०८१
प्रतिक्रिया दिनुहोस्