काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट पनि हटाउने निर्णय गरेको छ।
केन्द्रीय कार्यालय च:मतिमा मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यबाट पनि हटाउने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
यसअघि रास्वपाले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरी निर्णय चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन गर्न भनेको थियो। साथै रास्वपाले दुई पटकसम्म ढकाललाई स्पष्टीकरण सोधेको थियो। ढकालले सभापति रवि लामिछानेमाथि विभिन्न आरोप लगाउँदै स्पष्टीकरण पत्र बुझाएका थिए।
जिल्ला-जिल्ला घुमेर नेता-कार्यकर्ताका सुझावका आधारमा ढकालले पार्टीमा प्रतिवेदन पेस गरेका थिए। त्यसपछि ढकालमाथि रास्वपाले स्पष्टीकरण र कारबाही प्रक्रिया सुरू गरेको थियो।
पार्टीबाट निष्कासित भएपछि ढकालले आफू रवि लामिछाने क्लबबाट मात्रै निष्कासित भएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार नभएको भन्दै न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि नैतिकताको आधारमा सभापति लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुपर्ने तर्क उनले गरेका छन्।
उनले फेसबुकमा भनेका छन्, ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार क्लबलाई छैन। न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनपर्छ। नैतिक रूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला, तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला, समयले पुष्टि गर्दै जानेछ।’
सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरी भाषणबाजी गर्दै हिँडेको आरोप समेत लगाएका छन्। उनले थपेका छन्, ‘आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन्। यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्याउने दुस्साहस गर्दै छन् । सम्बन्धित निकायको ध्यान जाओस् । र फेरी पनि नैतिक रूपले पतित रविलाई नैतिकता कै प्रश्न, अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस्, एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।’