काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि आज हुने भनिएको मतदान नहुने भएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार प्राविधिक तयारी पुरा हुन नसकेपछि आज निर्वाचन नहुने भएको हो। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले तयारी पुरा गरेर शुक्रबार बिहान ७ देखि मतदान हुने बताए।
यसअघि आज बिहान १० बजे तय गरिएको मतदान तयारी नपुगेको भन्दै १ बजे र त्यसपछि साढे २ बजेका लागि सारिएको थियो। समितिले उम्मेदवार धेरै भएको र मतपत्र छपाइमा ढिलो भएका कारण आज मतदान हुन नसकेको बताएको छ।
अर्कोतर्फ समयमा मतदान हुन नसकेपछि सहमतिको प्रयास जारी रहेको बताइएको छ।
काँग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि ८०० भन्दा बढी उमेदवार चुनावी मैदानमा रहेका छन्। काँग्रेसको यस निर्वाचनमा महाधिवेशनका ७ हजार २५५ जना प्रतिनिधिले मतदान गर्दैछन्।