बिहीबार, भदौ २५, २०८३

बुलाकी: विषयवस्तु पुरानै, प्रस्तुतिमा नयाँपन [समीक्षा]

 |  सोमबार, भदौ ३, २०८१

लक्ष्मीप्रसाद खतिवडा

लक्ष्मीप्रसाद खतिवडा

सोमबार, भदौ ३, २०८१

सामाजिक विषयवस्तुमा फिल्म बनाउने प्रचलन नेपालमा पुरानै हो। दर्शकलाई म्यासेज दिने नाममा असंख्य फिल्मले टर्चर दिइसके र अहिले पनि त्यो क्रम जारी छ। फिल्मको काम दर्शकलाई हेरुन्जेल मनोरञ्जन दिनु हो, उपदेश दिनु होइन।

हेक्टिक दैनिकीबाट केही घण्टा फुर्सद निकालेर मानिस फिल्म हलमा छिर्छ। त्यही एकाध घण्टामा पनि म्यासेज दिने नाममा बोरिङ फिल्म हेर्नुपर्‍यो भने कति दिक्क लाग्दो हो। फिल्मले म्यासेज दिएर समाज सुध्रिने भए अहिलेसम्म देशमा रामराज्य आइसक्थ्यो होला।

सामाजिक विषयवस्तुमा फिल्म बनाउनै हुँदैन भन्ने होइन। तर फिल्मको उद्देश्य म्यासेज होइन मनोरञ्जन दिने हुनुपर्छ।

सामाजिक विषयवस्तुमै आधारित फिल्म बुलाकी अहिले हलहरुमा प्रदर्शन भइरहेको छ। कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा विद्यमान जारी प्रथा यसको मूल कथावस्तु हो। सँगसँगै नि:सन्तान महिलामाथि हुने हिंसा, बुहारीमाथि सासूको बुहार्तन, छाउपडी प्रथा, साहु-महाजनले गरिब-गुरुबालाई गर्ने थिचोमिचो आदि पनि देखाइएको छ। 'बेहोरा म पछि लेखौंला' भन्दै पटक-पटक साहुले गाउँका निमुखालाई खाली कागजमा ल्याप्चे लगाउन लाउँछन्।

कर्णाली र सुदूरपश्चिमका लागि कालापार रोजगारी दशकौंदेखिको नियति हो। भर्भराउँदी श्रीमती हीरालाई छोडेर कालापार भासिनु चन्द्रेका लागि रहर होइन, बाध्यता हो। 'अर्को वर्ष फर्केर आउँदा छोरो खेलाउन पाउनुपर्छ' भनेर उ बाटो लाग्छ। यता हीरा पर सरेर छाउगोठमा बस्न पुग्छे। गर्भ नबस्दा सासूको टोकसो बढेपछि हीराको मन बदलिन्छ, त्यसपछि कथाले नाटकीय मोड लिन्छ। ‘मकन था छ, आइमाइकै बल हुन्छ। अका बरस म घर आउने बेला तमी आमा भएको खुश खबरी सुन्न पाउँ,’ परदेश हिँड्नुअघि चन्द्रेले भनेको यो कुराले हीराको मन खिन्न भइरहन्छ। आफ्नै नन्दले मन पराउने केटासँग हीराको मन बसेपछि विकसित हुने घटनाक्रमकै वरिपरि फिल्म घुमेको छ।

फिल्मको राम्रो पक्ष के हो भने समाज सुधार्ने नाममा यसमा म्यासेज थोपरिएको छैन। कथा सलल बगेको छ अनि दृष्य र संवादमा दर्शक इन्गेज हुन्छन्। दृष्यहरु अनावश्यक रुपमा लामा छैनन्, पात्रहरुले आदर्शका लामा डाइलग बोल्दैनन्। 

फिल्ममा मुख्य पात्र सुरक्षा पन्त डोमिनेट छिन्, किनकी पूरै कथा उनकै वरिपरि घुमेको छ। पतिको चिठी पढ्न सक्ने र जवाफ लेख्न सक्ने उनलाई विद्रोही महिलाको रुपमा प्रस्तुत गरिएको छ। लवज र हाउभाउमा सुरक्षाको मिहिनेत देखिन्छ। अरु पात्र पनि छायामा परेका छैनन्। नरेन खड्का र डेब्यु कलाकार विराज बिष्टले पनि सुरक्षालाई माथ दिने गरी अभिनय गरेका छन्। सहायक पात्रहरु पनि बोरिङ छैनन्। फिल्म हेरिसक्दा पनि ती पात्र दिमागमा आइरहन्छन्।

अनावश्यक रुपमा बाल कलाकार घुसाइएको छैन। कलाकार चयनमा ध्यान दिइएको छ। सिनियरदेखि नयाँ सबै कलाकारले राम्रो काम गरेका छन्। सासूको भूमिकामा लक्ष्मी गिरीको चयन उत्कृष्ट छ। दुई गाउँका मुखियाको रुपमा रमेश बुढाथोकी र सुशील पोखरेल फिट छन्। फिल्ममा एकजना पात्र तामाङ समुदायकी छिन् जसलाई बडो अर्थपूर्ण रुपमा प्रस्तुत गरिएको छ। 

पञ्चायतकालको समय झल्काउन प्रयोग गरिएको त्यतिबेलाको राष्ट्रिय गान 'श्रीमान् गम्भीर नेपाली' ठिकै लाग्छ तर बीचमा एकदमै छोटो रुपमा घुसाइएको माओवादी जनयुद्धवाला दृष्य जरुरी लाग्दैन।

पूरै फिल्ममा कर्णाली र सुदूरपश्चिमको लवज प्रयोग गरिएको छ। अन्य क्षेत्रका दर्शकले कहीँकतै लवज नबुझे पनि अंग्रेजी सबटाइटलले सहयोग गर्छ। त्यही लवजको छोटो गीत बोरिङ छैन। मुख्य पात्र सुरक्षा अर्थात् हीराले गाउने गीतले दर्शकलाई मन्त्रमुग्ध बनाउँछ।

फिल्मको क्लाइमेक्समा जारी प्रथालाई बडो राम्रोसँग देखाइएको छ जुन नयाँ पुस्ताका लागि चाखलाग्दो हुन सक्छ। हीराले फिर्ता गरेको बुलाकी चन्द्रेले खोलामा बगाइदिँदा फिल्म प्रेमकथा जस्तो पनि लाग्छ। तर लभस्टोरी यसमा खासै छैन।

म्यासेज होइन फिल्मको मजा लिने हो भने तपाईंको दुई घण्टा समय खेर जाँदैन, पैसा असुल हुन्छ। 

प्रकाशित: Aug 19, 2024| 09:00 सोमबार, भदौ ३, २०८१
प्रतिक्रिया दिनुहोस्