शनिबार, भदौ ६, २०८३

आइतबारसम्म देशभर वर्षाको सम्भावना

 |  बिहीबार, असार १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार १३, २०८१

काठमाडौं- मनसुन थप सक्रिय हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीबार साँझ बुलेटिन जारी गर्दै महाशाखाले शुक्रबारदेखि केही दिन मनसुनको न्यून चापीय रेखा पूर्ण रूपमा विकसित भएर सरदर स्थानभन्दा उत्तरतर्फ रहने भएकाले मनसुन थप सक्रिय हुने सम्भावना रहेको जानकारी दिएको हो।

मनसुनी वायुको प्रभावका कारण शुक्रबारदेखि आइतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रहेर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको मनसुन विशेष मौसम बुलेटिनमा उल्लेख छ। 

गण्डकी प्रदेशका केही स्थानमा, कोसी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा तथा मधेस र कर्णाली प्रदेशका एक‍–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।

शुक्रबारदेखि आइतबारसम्म तीन दिन मेघ गर्जन र चट्याङ, भारी वर्षा, भूक्षय, पहिरो तथा गेग्रान बहाबको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने बुलेटिनमा उल्लेख छ।
 

प्रकाशित: Jun 27, 2024| 20:05 बिहीबार, असार १३, २०८१
प्रतिक्रिया दिनुहोस्