मंगलबार, पुस ८, २०८२

धनुषाका किसानले मलबिनै थाले रोपाइँ

 |  बिहीबार, असार १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार १३, २०८१

धनुषा- केही दिनदेखि मनसुन भित्रिएसँगै जिल्लाका अधिकांश गाउँमा धान रोपाइँ सुरु भएको छ। जिल्लामा ४२ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएकामा पछिल्लो समय मलको अभाव रहेको गुनासो आइरहेको छ।

National life

असार लागेसँगै जिल्लाका कतिपय किसानले मलबिना नै धान रोपाइँ गरिरहेका छन्। यो समस्या प्रतिवर्षजस्तै रहेको भन्दै हालसम्म समाधान नभएको किसान बताउँछन्।

संघीय सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरसँग मल पर्याप्त मात्रामा भए पनि किसानलाई उपलब्ध हुन नसकेको मनोहर यादवले गुनासो गरे। उनका अनुसार असार लागेसँगै कतिपय किसानले मलबिना नै रोपाइँ गरिरहेका छन्।

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि असारको पहिलो सातासम्म २४ करोड ४१ लाख ७३ हजार पाँच सय ५० रूपैयाँ बराबरको ९३ हजार तीन सय ३९ मेट्रिकटन मल बिक्री गरेको जनाएको छ।

नौ करोड ३३ लाख ७६ हजार एक सय ३० रूपैयाँ बराबरको पाँच हजार पाँच सय १३ मेट्रिक टन युरिया, १६ करोड ४३ लाख ४५ हजार रूपैयाँ बराबरको तीन हजार पाँच सय ७२ मेट्रिकटन डीएपी, ५७ लाख ८१ हजार सातसय रूपैयाँ मूल्य बराबरको एक सय ७० मेट्रिकटन पोटास तथा ६ लाख ७२ हजार रूपैयाँ मूल्य बराबरको ८४ मेट्रिकटन चुन बिक्री गरिएको कार्यालयका प्रबन्धक बेचनकुमार महतोले जानकारी दिए।

Laxmi sunrise bank
kumari

उनका अनुसार वर्षेबालीका लागि कार्यालयसँग युरिया दुई हजार दुई सय ६२ मेट्रिकटन, डीएपी एक सय १४ मेट्रिकटन तथा पोटास ९७ मेट्रिकटन मौज्दात रहेको छ। 'धानखेतीका लागि आवश्यक पर्ने मल पर्याप्त अवस्थामा रहेको छ भने मल आउने क्रम जारी छ', उनले भने।

यस वर्ष समयमा नै किसानलाई मल उपलब्ध गराइने भन्दै मलको समस्या नरहने प्रबन्धक महतोले बताए। 'जनकपुर शाखाबाट धनुषा तथा महोत्तरीका २७ पालिकाअन्तर्गत रहेका दुई सय नौ सहकारी संस्थामार्फत मल जाने गरेको छ। जिल्लाका सम्बन्धित पालिकाको ढिलासुस्तीका कारण किसानलाई मलको अभाव देखिएको हो', उनले भने।

स्थानीय पालिकाले समयमा मलका लागि ढुवानी खर्च, ‘लोड’ र ‘अनलोड’ गरी बिक्री गर्ने दररेट कायम नगर्दा बिक्रेताले किसानलाई बिक्री गर्न नसकेका हुन्। भारतबाट कम गुणस्तरको मल ल्याउँदा जमिनको उत्पदान क्षमतामा ह्रास आउँदै गएको किसान यादवले बताए। कृषि सामग्री संस्थाबाट मल नपाउँदा  सोनमा गाउँपालिकाका किसानले भारतीय बजारबाट बढी मूल्यमा मल ल्याएर रोपाइँ गरिरहेका उनले जानकरी दिए।

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयका प्रबन्धक महतोका अनुसार किसानको आवश्यकता अनुसार सहकारीमार्फत मल बिक्री हुँदै आएको छ। सहजरुपमा मल पाउन गाह्रो रहेको महेन्द्रनगरका किसान रामकुमार महतोले बताए। स्थानीय तहले मल वितरण प्रणालीमा पारदर्शीता लागु नगर्दा किसानलाई समयमा मल पाउन सकस भएको उनको बुझाइ छ।

प्रदेश सरकारमार्फत पालिकाले पाएको कोटा अनुसारको मल समयमा नउठाउँदा रोपाइँको समयमा अधिकांश किसानले मल पाउन सकेका छैनन्। कार्यालयले किसानलाई सहुलियत दरमा युरिया प्रति बोरा रु आठ सय ५०, डीएपी पचास किलोको प्रतिबोरा रु दुई हजार तीन सय ५०, पोटास प्रतिबोरा रु एक हजार सात सय ५० मा बिक्री गर्दै आएको छ। स्थानीय बिक्रेताले जथाभावीरुपमा बिक्री वितरण गर्दा किसानले बाध्य भएर भारतीय बजारबाट खरिद गर्नुपरेको गुनासो गरेका छन्।

प्रकाशित: Jun 27, 2024| 19:31 बिहीबार, असार १३, २०८१
प्रतिक्रिया दिनुहोस्