मंगलबार, पुस ८, २०८२

तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात

 |  बुधबार, असार १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार १२, २०८१

तनहुँ- बर्सेनि रासायनिक मल अभाव व्यहोरेका तनहुँका किसानलाई समस्या नहुने भएको छ। भण्डारणमा पर्याप्त मौज्दात रासायनिक मल भएपछि तनहुँका किसानले धान तथा मकैखेतीका लागि मल अभाव झेल्नु नपर्ने भएको हो।

National life

जिल्लामा आवश्यक रासायनिक मल आयात भइरहेको र मल आउने क्रम जारी रहेकाले अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय दमौलीले जनाएको छ। कम्पनीले बजार मागअनुसार मल ल्याउन नसक्दा विगत वर्षमा किसानले मल अभाव झेल्नुपरेको प्रमुख दिनेश शर्माले जानकारी दिए।

उनका अनुसार जिल्लामा माग भएअनुरुप नै आयात भइरहेको र मौज्दात रहेको मल वितरण भइरहेको छ। रासायनिक मलको सबैभन्दा धेरै माग असारमा हुने र मागअनुसारको आइरहेको र आउने क्रम जारी रहेकाले अभाव नहुने उनले बताए।

कृषि ज्ञान केन्द्र र कृषि सामग्री कम्पनीसँगको मंगलबार भएको छलफलपछि सहमतिमा असार १५ गतेदेखि युरिया र डीएपी मल एकसाथ वितरण गरिने उनले बताए। उनले कम्पनीसँग रहेको मौज्दातले माग धानेकाले अभाव नहुने बताए। उनले भने, 'अहिले पनि डीएपी मल पठाइरहेका छौँ, १५ गतेबाट युरिया र डीएपी दुवै मल बिक्री वितरण हुन्छ।'

कृषि सामग्री कम्पनी लिमिटेडले तनहुँ र लमजुङ जिल्लाका किसानका लागि पालिकाले तोकेका कृषि सहकारी संस्थामार्फत मल वितरण गर्दै आएको छ। तनहुँलाई एक सय ५० टन युरिया र दुई सय टन डीएपी र लमजुङका लागि एक सय टन युरिया र एक सय टन डीएपी वितरण हुने उनले बताए।

Laxmi sunrise bank
kumari

प्रमुख शर्माका अनुसार युरिया एक हजार छ सय ५० टन, डीएपी चार सय तीन टन, पोटास ५३ टन र चुना तीन टन आयात भएको छ भने थप मल आउने क्रममा रहेको छ। तनहुँका लागि युरिया एक हजार एक सय ४०, डीएपी दुई सय ९५ टन र पोटास ३६ टन माग छ। लमजुङको लागि युरिया पाँच सय टन, डीएपी एक सय आठ टन र पोटास १७ टन माग छ।

गण्डकी प्रदेश सरकारले कोटा निर्धारण गरिसकेको र असार १५ देखि रोपाइँ धमाधम हुने भएकाले वितरणलाई पनि प्रभावकारी तवरबाट गरिने उनले बताए। गत वर्ष चार प्रकारका मल गरी एक हजार चार सय १८ टन मात्रै मल आएकाले अभाव भएको थियो। तनहुँमा ९५ र लमजुङमा ५२ गरी एक सय ४७ वितरण केन्द्र छन्।

कृषि ज्ञान केन्द्रले आवश्यकतानुसार पालिकालाई कोटा निर्धारण गर्ने र पालिकाले सोहीअनुसार केन्द्रको कोटा निर्धारण गरी पत्र पठाएपछि मल प्रदान गरिने शर्माले जानकारी दिए। गत वर्षभन्दा यस वर्ष धेरै मल आयात गरिएकाले अभावको समस्या नआउने शर्माको विश्वास छ। रासस

प्रकाशित: Jun 26, 2024| 20:31 बुधबार, असार १२, २०८१
प्रतिक्रिया दिनुहोस्