सोमबार, जेठ २६, २०८२

मर्चवारमा बहुउद्देश्यीय सडक निर्माण

 |  सोमबार, असार १०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार १०, २०८१

vianetvianet

लुम्बिनी- रुपन्देहीको कोटहीमाइ गाउँपालिकाले बहुउद्देश्यीय सडक निर्माण गरेको छ। लुम्बिनी प्रदेश सरकारको साझेदारीमा रु २५ लाखको लागतमा नालासहितको चार किमी सडक निर्माण गरेको हो।  

बहुउद्देश्यीय नयाँ सडकको निर्माणबाट स्थानीय बासिन्दा उत्साहित बनेका छन्। 'सडक निर्माण भएपछि हामीलाई अस्पताल जान, विद्यालय र बजारसम्म पुग्न निकै सजिलो भएको छ', कोटहीमाई-४ का राम बचन यादवले भने, 'अब हिउँद र बर्खामा पनि आवत-आवत गर्न समस्या हुने छैन।'

स्थानीयवासी जगदिश वर्माले सडकले सिँचाइ र जल निकाससमेतको उचित प्रबन्ध गरेको , वडा नं ३, ४, ५, र ७ का एक हजार हेक्टर खेती डुबान हुने समस्यालाई अन्त्य गरेको बताए। उनले जोतिया, रोपाइँ, सिँचाइ र बाली ढुवानीलगायत कार्यका लागि पनि सडक उपयोगी रहेको जानकारी दिए। 

गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर नवराज भण्डारीले, पुरानो जीर्ण नालाको संरक्षणसँगै नयाँ कृषि सडक निर्माण गरिएको बताए।

उनले भने, 'सडकको आवश्यक पर्ने भागमा कल्भर्ट हालेर पानीलाइ निकास दिइएको छ।' सडकसँगैको नालामा सिँचाइका लागि आवश्यक पानीको भण्डारण गर्न मिल्ने बनाइएको उनको भनाइ छ। उनले भने, 'गाउँपालिकाले सडकमा हरियाली विस्तार, सोलार बत्ती जडान र नियमित मर्मतसम्भारको योजनासहित त्यसको दीर्घकालीन उपयोगिता सुनिश्चित गरेको छ।' 

National life insurance

गाउँपालिकाका अध्यक्ष बालकृष्ण तिवारीका अनुसार सडकको निर्माणले स्थानीयवासीको जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ। 'हामीले सो सडकबाट कृषि, व्यापार, स्वास्थ्य र शिक्षा र रोजगारमा समेत सुधार ल्याउने लक्ष्य लिएका छौँ', उनले भने, 'यसको विशेषता बहुउद्देश्यीय उपयोग हो।'

मुख्य सडकसम्मको सीधा पहुँचलाई यसले सहज बनाएको तिवारीले बताए। अहिले एकतर्फ नाला, अर्कोतर्फ सँगसँगै सडक निकालिएको छ। सडक निर्माणले घर-जग्गाको मूल्याङ्कन पनि बढेको उनले बताए।

'यो सडक कोटहीमाइको विकास र समृद्धिको मार्गमा कोसेढुंगा हो', अध्यक्ष त्रिपाठीले भने,  'यसले स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने छ। निर्माणका क्रममा हरियाली संरक्षण तथा माटोको कटान नियन्त्रणमा पनि ध्यान दिइएको छ, जसले पर्यावरणीय सन्तुलनलाई कायम राख्न मद्दत पुर्‍याउने देखिन्छ।' रासस

प्रकाशित: Jun 24, 2024| 21:35 सोमबार, असार १०, २०८१
प्रतिक्रिया दिनुहोस्