मंगलबार, माघ १, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बाबुछोराको सम्बन्धमा बनेको 'गाउँ आएको बाटो'

 |  बिहीबार, जेठ २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २४, २०८१

ntc landingntc landing

काठमाडौं- नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा पु(याउने श्रेय निर्देशक नवीन सुब्बालाई जान्छ। उनले निर्देशन गरेको पहिलो चलचित्र ‘खाङग्री’ ट्रेन्टो अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवमा पुगेको थियो। शेर्पा भाषामा तयार भएको उक्त चलचित्रमा हिमाली संस्कृति र कथा देखाइएको थियो। पहिलो पटक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुग्ने निजी लगानीको चलचित्र ‘खाङग्री’ नै हो।

himalayan bank box

निर्देशक सुब्बाको दोस्रो चलचित्र ‘नुमाफुङ’ फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोलगायतका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भयो। ग्रामीण कथालाई बुझ्न सक्ने र अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने निर्देशक सुब्बाले निर्देशन गरेको पछिल्लो चलचित्र हो, ‘गाउँ आएको बाटो’।

यसमा राई जातिको सामाजिक पृष्ठभूमिमा पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकोडालो बनाएर जीविकोपार्जन गरिरहेको एक परिवारको कथा प्रस्तुत गरिएको छ। विशेषत गाउँमा मोटरबाटो भित्रिएसँगै आएको आधुनिक परिवर्तनले उक्त परिवारमा ल्याउने उतारचढावलाई प्रस्तुत गरिएको छ।

‘यो बुबाछोराको सम्बन्धलाई नियाल्ने प्रयास हो। यो कथा पढेपछि मैले मेरो बाल्यकाल र बुबासँगको सामिप्यतालाई महसुस गरेको थिएँ। कहिलेकाही गाउँमा बाटो पुगेपछि गाउँलाई सहरसँग जोड्छ वा सहरमा तान्छ। बसाइसराइ, आधुनिकतासँगै गाउँ नै रित्तो पनि बनाउने गरेको छ। हामीले यस्तै विषयलाई एउटा परिवारको आँखा वा भोगाइबाट व्यक्त गरेका छौँ। यो हाम्रो ग्रामीण भेगको कथा हो’, निर्देशक सुब्बाले भने।

उनले बाँसको चोयाबाट विभिन्न वस्तु विभिन्न तयार गर्ने बुबा र आफ्नो सपना बोकिरहेको छोराको सम्बन्धलाई चलचित्रमा प्रस्तुत गरेका छन्। गाउँमा बाटो र गाडी आएपछि भित्रिने आधुनिकताले एउटा मध्यमवर्गीय परिवारमा पार्ने असर नै चलचित्रको कथासार हो।

‘आधुनिकताले हाम्रो मौलिकतालाई गरिरहेको असर पनि बसाइँसराइको एक कारण हो। ठूला सपना र रहरले गाउँबाट सहर र विदेशसम्म पुग्न बाध्य बनाएको छ। यसलाई मैले राई समुदायको पृष्ठभूमिमा तयार गरेको छु। यसले हामीलाई उक्त समुदायको संस्कृतिसँग पनि जोड्छ’, निर्देशक सुब्बाले भने।

चलचित्रको मूल कथा अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई, बालकलाकार प्रसन राईमा केन्द्रित छ। चलचित्रको विषय दश वर्ष अघि नै आफूले थाहा पाएको अभिनेता दयाहाङ राईले बताए। तर, उनलाई यस चलचित्रमा आफूले अभिनय गर्छु भन्ने लागेको थिएन।

‘त्यो बेला नै फरक लागेको थियो। तर, उमेरका कारण आफू पात्रमा उपयुक्त हुन्न् भन्नेमा निर्धक्क थिएँ। चलचित्रको निर्माण ढिलो भएपछि म जोडिएँ। यसमा बुबा, छोरा र आमा तीनै पात्रको आँखाबाट कथा प्रस्तुत गरिएको छ’, अभिनेता राईले भने।

चलचित्र विदेशी र स्वदेशी दुवै बजारका लागि सुहाउँदो हुनुपर्नेमा उनी स्पष्ट छन्। विदेशी महोत्सवमा पुगेर वा स्वदेशमा व्यापारिक सफलतामात्र आर्जन गरेर चलचित्रको विकास नहुने उनको बुझाइ छ। ‘अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नपुग्दासम्म हाम्रोबारेमा विदेशी चलचित्रकर्मीलाई धेरै ज्ञान हुँदैन। त्यहाँ हुने प्रदर्शनी, प्राप्त गर्ने पुरस्कारले हाम्रो निर्माण क्षमता र कथाबारे उनीहरूलाई अवगत गराउँछ। त्यस्तै, घरेलु बजारमा राम्रा चलचित्र बनाउने दबाब पनि बढ्छ’, अभिनेता राईले भने।

‘गाउँ आएको बाटो’ जेठ २५ गतेदेखि प्रदर्शन हुँदैछ। महोत्सवमा सहभागी भएको चलचित्र भन्ने बित्तिकै मनोरञ्जन नदिने किसिमको हुन्छ भन्ने भाष्य सही नभएको निर्देशक सुब्बाको भनाइ छ। चलचित्रको विधा र प्रस्तुतीकरणअनुसार मनोरञ्जन, समवेदना र हाँस्यरस हुने उनले बताए।

‘अन्तर्राष्ट्रिय महोत्सवमा पुगेका चलचित्र हेर्न बढी दिमाग प्रयोग गर्नुपर्छ भन्ने भाष्य गलत छ। किनकी कालोपोथी होस् वा ऐना झ्यालको पुतली निकै मनोरञ्जनात्मक छ तर यसको प्रस्तुतीकरण नियमितभन्दा फरक छ’, निर्देशक सुब्बाले भने।

‘गाउँ आएको बाटो’ मा केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतले पनि अभिनय गरेका छन्। महेश राई र निर्देशक सुब्बाले लेखेको चलचित्रको छायाङ्कन जोस हेरम, सम्पादन क्वान पुन लिउङ र हेडी लीले सङ्गीत भरेका छन्।     -रासस

प्रकाशित: Jun 06, 2024| 06:01 बिहीबार, जेठ २४, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्