आइतबार, भदौ ७, २०८३

कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै

 |  बिहीबार, जेठ १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १७, २०८१

सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप ल्याउने ६ महिनाअघिको तयारी रहेको र अहिले नयाँ भेरियन्ट ‘केपी १’, ‘केपी २’, ‘केपी ३’ र ‘केपी ४’ देखिएसँगै थप ल्याउन लागिएको हो।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याउन लागिएको जानकारी दिए।

‘कोरोनाविरुद्ध खोप नियमित दिइरहेका छौँ। अहिले रहेको खोपको मौज्दात पनि सकिन थालेको छ,’ उनले भने, ‘महामारी भइसकेपछि पनि सधैँ तयारी अवस्थामा बस्नुपर्ने हुन्छ। अहिले नयाँ भेरियन्ट पनि देखिएको छ। त्यसैले खोप ल्याउन थालेका हौँ।’

अहिले स्वास्थ्य विभागसँगै एक लाख मात्रा मात्र खोप मौज्दात रहेको छ। उनले ६–६ महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट पनि देखिएको र खोप ल्याउने पहिलेको तयारी रहेको बताए।

उनका अनुसार ग्लोबल एलाएन्स फर व्याक्सिन एन्ड इमुनाइजेसन (गाभी)ले फाइजरको ‘मनोभ्यालेन्ट’ खोप अनुदानमा उपलब्ध गराउनेछ।

अहिले पनि विदेश जाने, ज्येष्ठ नागरिक र दीर्घरोगीले नियमित कोरोना भाइरसविरुद्धको खोप लगाउने गर्दछ। सरकारी अस्पतालमा अहिले पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने गरिन्छ।

प्रकाशित: May 30, 2024| 18:01 बिहीबार, जेठ १७, २०८१
प्रतिक्रिया दिनुहोस्