बिहीबार, पुस १०, २०८२

मेयर बालेनलाई सडक विभागको चेतावनी- अराजक व्यवहार सह्य हुँदैन

 |  आइतबार, जेठ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १३, २०८१

काठमाडौं- काठमाडौं महानगरपालिकाले सडक डिभिजन कार्यालयको गेटमा शनिबार एक ट्रक धुलो र फोहोर फालेपछि यी दुई निकायबीच विवाद उत्पन्न भएको छ।

National life

सडक डिभिजन कार्यालय काठमाडौंले शनिबार विज्ञप्ति जारी गर्दै महानगरको उक्त कार्यलाई 'कानुनी राज्यको उपहास हुने गरी गरिएको बलमिचाइँ' र 'अराजक शैली' भनेको छ।

'महानगरले शनिबार साँझ करिब ५ बजे मीनभवनस्थित सडक डिभिजन काठमाडौंको गेटमा कार्यालय परिसरसमेत छिर्न अवरोध हुने गरी मिनी टिपरबाट फोहोर फालिएको विषयले गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ, 'काठमाडौं जिल्लाभित्रका सडक निर्माण तथा मर्मतसम्भारको महत्त्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिचाइँ तथा अराजक शैलीबाट भएको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लंग छ।'

यसअघि काठमाडौं महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत सडक डिभिजन कार्यालयको गेटअगाडि एक ट्रक फोहोरसहितको धुलो फालेको भिडियो सार्वजनिक गरेका थिए। भिडियोसँगै उनले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठप्रति लक्ष्य गर्दै स्ट्याटससमेत लेखेका थिए।

‘काठमाडौंमा हुने आधाभन्दा बढी प्रदूषणमा कलंकीदेखि महाराजगन्जसम्मको रिङरोडको धुलोको हात छ, जसले महानगरवासीले धुलोधुवाँ खानुपरेको छ। त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नुपरेको छ। पुग्न अबेला भइरहेको छ। काठमाडौं महानगरले अकारण गाली खानुपरेको छ। यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन,' मेयर बालेनले आफ्नो स्ट्याटसमा लेखेका छन्, 'जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु। माया सम्झेर स्विकार्नुहोला।'

Laxmi sunrise bank
kumari

बालेनले कलंकीदेखि महाराजगन्जसम्मको रिङरोड विस्तारका नाममा महानगरवासीले बेहोर्नुपरेको धुलो र धुवाँका कारण फोहोर फालेको उल्लेख गरेका छन्। सडक डिभिजन कार्यालय काठमाडौंले भने न्यूरोडमा महानगरबाट गर्न खोजिएको निर्माणका कारण विवाद उत्पन्न भएको बताएको छ।

'सडक डिभिजन काठमाडौंको कार्यक्षेत्रभित्र भएका त्रुटि औंल्याई आवश्यक सुझाव दिए कार्यान्वयन गर्ने, तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने' विज्ञप्तिमा छ। महानगरको यस्तो व्यवहारको प्रतिकार गर्न सडक डिभिजन बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: May 26, 2024| 06:10 आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्