नवलपरासी- पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४, यस मोड नजिक पूर्व–पश्चिम राजमार्गमा बस पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते भएका छन्।
सोमबार बिहान करिब ७:३० बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो। बसमा करिब ४० देखि ४५ जना सवार रहेकोमा घाइते सातै जनालाई उपचारका लागि चिसापानीस्थित बर्दघाट नगर अस्पताल पठाइएको छ। बस पल्टिने क्रममा सोही दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको ट्रक (एचआर ३९ जी २८७६) मा समेत सामान्य ठक्कर लागेको थियो। ठक्करबाट ट्रकको पछाडिको भागमा क्षति पुगेको छ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षकको कमान्डमा ट्राफिक प्रहरीसहित ११ जनाको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनापछि पनि पूर्व–पश्चिम राजमार्गमा यातायात सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।