काठमाडौं- बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशअन्तर्गतका मुख्य राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार गोरखाको आरुघाट खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने अन्य चार स्थानका सडक खण्डहरूमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।
गण्डकी प्रदेशअन्तर्गत गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ९ मा बाढीले दुईवटा पुल बगाएपछि गोरखा–धादिङ जोड्ने मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बूढीगण्डकी नदीमा आएको बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पुल तथा वडा नं. ९ नयाँपुलस्थित गोरखा–आरुघाटबाट धादिङ जोड्ने पक्की पुल बगाएपछि आवागमन पूर्ण रूपमा ठप्प बनेको हो।
यसैगरी बाढी र पहिरोका कारण अन्य चार जिल्लाका मुख्य सडकहरूमा एकतर्फी मात्र सवारी आवागमन भइरहेको छ। बागमती प्रदेशअन्तर्गत धादिङको त्रिभुवन राजपथस्थित धुनिबेंसी नगरपालिका–९ खत्रीपौवामा पहिरो खसेपछि सडक एकतर्फी मात्र चलेको छ।
त्यस्तै म्याग्दीको बेनी–जोमसोम सडक खण्डअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैसरीमा गएको पहिरोका कारण सडक एकतर्फी सुचारु रहेको छ।
नवलपरासी पूर्वस्थित कालीगण्डकी कोरिडोरको बौदिकाली गाउँपालिका–०३ जन्ती पहिरोमा खसेको पहिरोले गर्दा सडक एकतर्फी मात्र खुलेको छ, जहाँ ठूला सवारी साधनहरू सञ्चालन हुन सकेका छैनन्। मनाङमा पनि बाढीका कारण बेँसीसहर हुँदै खाङसारतर्फ जाने सडक खण्ड एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ। प्रहरीले अवरुद्ध तथा जोखिमयुक्त सडक खण्डमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन र पछिल्लो वस्तुस्थितिबारे जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेको छ।