आइतबार, साउन १०, २०८३

नक्कली नागरिकता बनाउने गिरोहको बिगबिगी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम-नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्न वडा कार्यालयको सिफारिसदेखि बुबा वा आमाको नागरिकता हुनुपर्ने कानुनी प्रावधान छ । सम्पूर्ण कानुनी प्रावधान पूरा गरिकेपछि मात्रै बालिग भइसकेका व्यक्तिले नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्न सक्छन् ।

तर धनुषामा कुनै पनि कानुनी प्रावधान पूरा नगरी नागरिकता वितरण भएको पाइएको छ । यस कार्यमा जिल्ला प्रशासन कार्यालयका कर्मचारीदेखि निर्वाचित जनप्रतिनिधिको संलग्नता रहेको रहस्य सार्वजनिक भएको छ ।

प्रहरीले जिल्ला प्रशासन कार्यालयका कर्मचारीलगायत अन्य व्यक्ति संलग्न रहेको गिरोहलाई पक्राउ गरेपछि नक्कली नागरिकता बनाउने गिरोहको पर्दाफास भएको हो ।

धनुषामा नक्कली नागरिकता बनाउने गिरोह सक्रिय रहेको आशंकाको आधारमा प्रहरीले लामो समयदेखि अनुसन्धान गरिरहेको थियो । अनुसन्धानकै क्रममा २८ मंसिरमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका-२० देवपुरा रुपैठा बस्ने ३१ वर्षीय रोशनकुमार चौधरीलाई नियन्त्रणमा लियो ।

रोशनले भाडा लिएर बस्दै आएको कोठाको खानतलासी गर्दा प्रहरीले नक्कली नागरिकता, राहदानी,विवाहदर्ता, मृत्युदर्ता, बसाईसराईलगायतका कागजातका साथै जिल्ला प्रशासन कार्यालयमा प्रयोग हुने स्ट्याम्प, लेटरप्याड, होलोग्राम, विभिन्न व्यक्तिको तयार पारिएको नागरिकता, नागरिकता अनुसूचीका फारामलगायत सामग्री बरामद गर्‍यो । कागजातका साथै रोशनको साथबाट एक लाख ५३ हजार रुपैयाँ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी दीपेन्द्र शाहीले बताए । 

‘नक्कली नागरिकता बनाउने गिरोह धनुषामा सक्रिय रहेको हामीले सुइँको पाएका थियौं,’ शाहीले भने, ‘अनुसन्धान गर्दै जँदा यी व्यक्तिहरु पक्राउ परेका हुन् ।’ गिरोहमा संलग्न अन्य व्यक्तिबारे थप अनुसन्धान जारी रहेको उनले बताए ।

रोशनले दिएको बयानका आधारमा प्रहरीले त्यसै दिन जिल्ला प्रशासन कार्यालय धनुषाका कार्यालय सहयोगी जनकपुरधाम-४ बस्ने ४२ वर्षीय महावीर मण्डल, रौतहटको दुर्गा भगवती गाउँपालिका-४ घर भई हाल जनकपुरधाम-४ बस्ने हेमन्तकुमार पाण्डेय र धनुषाको औरही गाउँपालिका-५ का वडा सदस्यसमेत रहेका ४९ वर्षीय गंगा साहलाई पक्राउ गर्‍यो ।

उनीहरुलाई खोतल्दै जाँदा नक्कली नागरिकता बनाउने गिरोहका थप तीनजना प्रहरीको फन्दामा परेका छन् । पछिल्लोपटक पक्राउ परेका तीनैजना जिल्ला प्रशासन कार्यालय धनुषाका कर्मचारी हुन् । पछिल्लोपटक पक्राउ पर्नेहरुमा जिल्ला प्रशासन कार्यालय धनुषाका नासु भोला मण्डल, कार्यालय सहयोगी अरुणकुमार यादव र कार्यालय सहयोगी वीरेन्द्र चौधरी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी दीपक कर्णले बताए ।

कर्णका अनुसार नक्कली नागरिकतामा ०६३ र ०७० सालमा खटिएका नागरिकता टोलीका अधिकृतहरुको नक्कली हस्ताक्षर पाइएको छ । नागरिकता बाँड्न टोली खटेको दस वर्षभन्दा बढी भइसकेकाले यस अवधिमा सयौं नक्कली नागरिकता बनेको हुन सक्ने उनको भनाइ छ । 

जन्मसिद्ध नागरिकका सन्तानलाई हाल नागरिकता वितरण बन्द रहेको अवस्थामा समेत नक्कली हस्ताक्षर र कागजात प्रयोग गरी वंशजका आधारमा नागरिकता वितरण गरेको पाइएको कर्ण बताउँछन् । कार्यालयको साखै समाप्त पार्नेगरी यस्ता कार्यमा संलग्न जो सुकै भए पनि कारबाही हुने उनले बताए । नक्कली नागरिकता बनाउने गिरोहमा सयौंको सहभागिता हुन सक्ने कर्णको अनुमान छ ।

नक्कली नागरिकता लिने नेपाली हुन् वा भारतीय भन्ने प्रश्नको जबाफमा कर्णले भने,‘यस विषयमा अनुसन्धान भइरहेको छ । तर, सहज कानुनी रुपले नागरिकता पाउने व्यक्ति यसखाले गलत काम कहिले गर्दैन होला ।’

यसरी बनाइन्थ्यो नक्कली नागरिकता

नक्कली नागरिकता बनाउने गिरोहका नाइके रोशनलाई जिल्ला प्रशासन कार्यालयका कर्मचारीको सहयोग थियो । कार्यालयका कर्मचारीहरुले सादा नागरिकता प्रमाणपत्र, होलोग्राम, नागरिकता रजिस्टरका पाना उपलब्ध गराउँथे । रजिस्टर नै बोकेर कार्यालयबाट बाहिर निकाल्न समस्या हुने भएकोले कर्मचारीहरु पाना च्यातेर लैजान्थे । र, नागरिकता दिनुपर्ने व्यक्तिको नाम पानामा चढाएर फेरि रजिस्टरमा टाँस्ने गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।