काठमाडौं- भौतिक विकासमा पछाडि परेको कर्णाली प्रदेशलाई सूचना प्रविधिको क्षेत्रबाट मूल प्रवाहमा जोड्ने लक्ष्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। गुणस्तरीय इन्टरनेट सेवा पुर्याई जनजीवन सहज बनाउने र नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउन सरकारले आफ्नो साधन र स्रोतको अधिकतम प्रयोग गर्दै आएको छ।
त्यसको सार्थक परिणाम पनि हासिल हुँदै आएको छ। देशका ७७ वटै जिल्लामा उच्च गतिको इन्टरनेट सेवा पुर्याउने सरकारको लक्ष्यलाई नेपाल टेलिकमले कार्यान्वयनमा ल्याएको छ। यसै क्रममा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘भर्चुअल’ माध्यमबाट कर्णाली प्रदेशको मुगु जिल्लामा फाइबर टू दी होम (एफटिटिएच) सेवाको शुभारम्भ गरिन्।
नेपाल टेलिकमका अनुसार उक्त सेवा हुम्लामा पुग्न भने बाँकी छ। सो जिल्लामा समेत आगामी आर्थिक वर्षभित्रै एफटिटिएच सेवा पुर्याउने लक्ष्य राखिएको छ। कर्णाली प्रदेशलाई सिंहदरबारसँग जोड्ने योजना क्रमशः कार्यान्वयन हुँदै गएको मन्त्रालयको बुझाइ छ। कुनै बेला हात हातमा मोबाइल घरघरमा इन्टरनेटको नारा अगाडि सार्दा असम्भव जस्तै मानिए पनि अहिले सम्भव भएको भन्दै मन्त्री शर्माले प्रसन्नता व्यक्त गरिन्।
उनले नेपाल टेलिकमले व्यवसाय मात्रै नहेरी दूरदराजमा रहेका नागरिकलाई सेवा विस्तार गरिरहेकाले साथ र सहयोग प्रदान गर्न सबैको ध्यानाकर्षण गराइन्। उनले आजदेखि सुरु भएको सेवाले जिल्लाका सरकारी कार्यालय, सामुदायिक विद्यालय, स्थानीय सरकारले सहज रूपमा नागरिकलाई सेवा विस्तार गर्न सक्ने विश्वास व्यक्त गरे।
मन्त्री शर्माले विकट पहाडी क्षेत्रमा विद्युत् सेवाको अभावमा नेपाल टेलिकमको टावर सञ्चालनमा समस्या परेको तथ्य पेस गर्दै प्रसारण लाइन विस्तारमा सहजीकरण गर्न नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरिसकिएको बताइन्। उजले भनिन्, ‘सहज रूपमा सेवा विस्तारका लागि विद्युत्को उपलब्धता नै समस्याको कारक बनिरहेको छ। हामीले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री र सम्बद्ध अधिकारीसँग छलफल गरिसकेका छौँ।’
मन्त्री शर्माले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी दश वर्षलाई सूचना प्रविधि दशकका रूपमा मनाउन लागेको जानकारी दिनुभयो। उहाँले सूचना प्रविधिको अधिकतम उपयोग गरेर मात्रै आर्थिक समृद्धिको लक्ष्य हासिल हुनसक्ने भएकाले यसलाई सार्थक बनाउन सबैको साथ र सहयोगको अपेक्षा सरकारले गरेको उल्लेख गरे।
नेपाल सरकारको प्रवक्ताको जिम्मेवारीमा रहेकी मन्त्री शर्माले रारा घुम्न जाने पर्यटकलाई केन्द्रमा राखेर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेटको प्रबन्ध गर्दा त्यसबाट जिल्लालाई मात्रै नभई देशलाई आर्थिक लाभ हुने बताइन्। सो अवसरमा उनले सेवा विस्तारका लागि अहोरात्र खट्ने कर्मचारी तथा अन्य सरोकारवालालाई धन्यवाद दिइन्।
निर्माण व्यवसायी र स्थानीयरुपमा देखिएको समस्याका कारण रिपिटर टावर निर्माण भएर पनि सञ्चालनमा आउन नसकेको सन्दर्भमा स्थानीय स्तरमा नै समस्या समाधानका लागि पहल गरिदिन उनले प्रमुख जिल्ला अधिकारी र सम्बद्ध सरोकार भएका व्यक्ति वा संस्थालाई आग्रह गरिन्।
यससँगै नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट, ल्यान्डलाइन फोन र नेट टिभिसहितको सुविधा रहेको फाइबर टू द होम मुगुसहित ७६ जिल्लामा पुगेको छ। पछिल्लो एक वर्षयता ताप्लेजुङ, बझाङ, बाजुरा, रुकुम पश्चिम, जुम्ला, कालिकोट, रुकुमपूर्व, डोल्पा र मुगु गरी ७६ जिल्लामा एफटिटिएच विस्तार भएको छ।
कार्यक्रममा संघीय सांसद ऐनबहादुर शाहीले सरकारले मुगु जिल्लामा विस्तार गरेको पछिल्लो सेवाले स्थानीयवासी प्रत्यक्ष रूपमा लाभान्वित हुने भन्दै प्रसन्नता व्यक्त गरे। उनले जिल्लाका धेरै स्थानमा अझै पनि मोबाइल फोन नलाग्ने समस्या रहेकाले त्यसलाई समाधान गरिदिन मन्त्रालय र टेलिकमको ध्यानाकर्षण गराए।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले निजी क्षेत्र पुग्न नसक्ने स्थानमा सरकारी निकाय नै पुग्नुपर्ने र सेवा दिनुपर्ने उल्लेख गर्दै नेपाल टेलिकमको भूमिका ग्रामीण दूरदराजका क्षेत्रमा महत्त्वपूर्ण रहेको बताएका छन्।
चुनौतीलाई नै अवसरमा बदलेर मन्त्रालय र टेलिकम अगाडि बढेको जानकारी दिँदै सचिव सुवेदीले विकटका नागरीलाई सरकार भएको अनुभूति गराउँदा नै आफूहरूलाई खुसी मिल्ने धारणा व्यक्त गरे। गुणस्तरीय र सर्वसुलभ रूपमा टेलिकमको सेवा उपलब्ध गराउनका लागि अझै मेहनत गर्नु जरुरी रहेको सचिव सुवेदीको कथन थियो। -रासस