काठमाडौं – नेपाली हामी रहौंला कहाँ नेपालै नरहे,
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे...
जो कोहीले चिन्ने नाम हो नाति काजी। माथीको दुई पंती गीतका संगीतकार पनि नाती काजी हुन्। उनले थुप्रै कालझै गीतमा संगीत भरिसकेका छन्। आज तिनै नेपाली संगीतका सुविख्यात संगीतकार नातिकाजी श्रेष्ठको ९४ औं जन्मजयन्ती हो।
आफ्नो सिंगो जीवन नेपाली संगीतको आराधनामा समर्पित गरेका नातिकाजीको जन्म वि.सं. १९८२ पौष ३ गते ललितपुरमा भएको थियो। उनी सानैदेखि संगीतप्रति आकर्षित थिए। उनले सात वर्षकै उमेरमा हार्मोनियम बजाएर गीत गाएका थिए। यसले प्रस्ट हुन्छकी नातिकाजी संगीतकै लागि जन्मेका हुन्। नातिकाजी दुःखात्मक, सुखात्मक र राष्ट्रिय भावका गीतमा जीवनन्त संगीत भर्न सक्थे। जसले गर्दा उनी नेपाली सांगीतिक वागमयमा अमर बन्न सफल भए।
नातिकाजीले २००८ सालदेखि २०३४ सालसम्म रेडियो नेपालमा नायव सुब्बास्तरको संगीतकारको रुपमा रहेर नेपाली सांगितिक क्षेत्रमा योगदान पु्र्याए। पछि उनी रेडियो नेपालमा शाखा अधिकृतमा बढुवा भए र त्यसको केही समय पछि उपसचिव स्तरिय संगीतकारमा नियुक्त भए।
नातिकाजीको नेपाली आधुनिक संगीतलाई एउटा उचाइमा पुर्याउन ठुलो योगदान छ। उनको अविरल योगदानले उनी नेपाली संगीतका एउटा चिरस्मरणीय विम्ब, साधक र साधन भए। त्यसैले उनलाई नेपाली सांगीतिक क्षेत्रका संगीतशिरोभूषण पनि भनियो।
नातिकाजीका सम्पूर्ण संग्रह हेर्नेहो भने दुई हजारभन्दा बढी सांगीतिक धूनहरु रेडियो नेपालमा सुरक्षित छन्। नातिकाजी संगीतकार मात्र होइनन् उनले युवा अवस्थामा गीत पनि गायका थिए। उनले त्यसबेला गायका दुई सय गीतहरु पनि रेडियो नेपालमा सुरक्षीत छन्। उनका बाइसवटा अपेराहरु पनि रेडियो नेपालमा सुरक्षिछ छन्। नातिकाजीले आफ्नो जीवनमा सात वटा गीत लेखेका थिए।
उनको अविरल योगदानले उनी नेपाली संगीतका एउटा चिरस्मरणीय विम्ब, साधक र साधन भए। त्यसैले उनलाई नेपाली सांगीतिक क्षेत्रका संगीतशिरोभूषण पनि भनियो।
नातिकाजीले प्रवेशिका परीक्षामात्र उतिर्ण गरे। तर, संगीतमा उनी स्नातक भए। उनी संगीतका सिंगो महाविद्यालय नै बन्न सफल भए। उनको योगदानले नेपाली गीत आकासमा नअस्ताउने तारा बन्न सफल भएका छन् नातिकाजी।
सरल स्वभावका नातिकाजीलाई सबैले मन पराउथे। उनको व्यवहारको अझै पनि नेपाली सांगीतिक जगतमा चर्चा हुने गर्छ।
‘नेपाली आधुनिक सांगीतिक बगैचामा नातिकाजीले नै सुगन्धित फूल फुलाए’, नातिकाजी स्मृति समाजका अध्यक्ष तथा बरिष्ठ संगीतकार सम्भोजित बास्कोटाले नातिकाजीको योगदानको स्मरण गर्दै भने, ‘उहाँ त्यस्तो कहिले न ओइलाउने फूल हो। जुन नेपाली सांगितिक वागमयमा सधै मगमगाइरहने छ।’ उनले नातिकाजी नेपाली संगीतको स्थापित नाम भएको बताउँदै हर दिन हर समय नेपाली सांगीतक आकासमा उनको नाम गुन्जी रहने बताए। बास्कोटाले नातिकाजी नेपाली संगीतको धरोहर र संरक्षक भएको भन्दै स्मरण गरे।
यस्तै रेडियो नेपालका कार्यक्रम महाशाखाका प्रमुख डा. नवराज लम्साल नातिकाजीलाई तीन किसिमले स्मरण गर्छन्। ‘पूर्व कर्मचारी, संगीतकार र व्यक्तिगत रुपमा गरि म तीन रुपमा सम्झिन्छु’, लम्साल भन्छन्, ‘सांगीत रुपमा सम्झिनु पर्दा उनी नेपाली संगीतलाई आधुनिकरण गरेर नेपाली पन दिएको संगीतकार हुन्, अग्रज कर्मचारीको रुपमा सम्झिदा कुसल व्यवस्थापक हुन र व्यक्तिगत रुपमा सम्झिनु पर्दा सिधा, सादा र सरल व्यक्ति हुन्।’
नातिकाजीले म तिम्रो गीत राम्रो मान्छु भन्दै डा. लम्साललाई तिम्रो गीतमा संगीत भर्छु भन्ने गरेको स्मरण अहिले पनि उनको मनसपटलमा घुमिरहन्छ। पछि एम बरालको स्वरमा रहेको डा. लमसालले लेखेको मेरो कोही होइन भन्नै मिल्ने साइनो छैन। तर खुशी दिने मन छ आँशु पुछि दिने। बोलको गीतमा नातिकाजीले संगीत पनि भरे।
जीवनको उत्तरार्धमा नातिकाजी नसा र मुटुको रोगबाट थला परे। उनले रोगले थला परेको समयमा पनि थुप्रै नेपाली गीतमा संगीत भरेका छन्। यसले प्रस्ट हुन्छ की उनी आफू भन्दा बढी नेपाली संगीतलाई माया गर्थे। जीवन र रोगसंग संघर्ष गरिरहेका नातिकाजी नेपाली सांगीतिक क्षितिजबाट वि.सं. २०६० साल कार्तिक १६ गते सदासदाका लागि अस्ताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४