काठमाडौं- पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको ९३ वर्षका उमेरमा निधन भएको छ । बूढानीलकण्ठ स्थित आफ्नै निवासमा उनको मंगलबार बिहान निधन भएको हो ।
कलेजो क्यान्सरका कारण थलिएका उनी १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराएर दुई दिन अघि मात्रै घर फर्किएका थिए । पारिवारिक स्रोतका अनुसार गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार निवासमै राखिने छ ।
२०१६ सालको प्रथम जननिर्वाचित सरकारको मन्त्रिपरिषद् सदस्य समेत रहेका उनी मुलुकमा पञ्चायत सुरु भएसँगै कांग्रेस छाडेर राजा महेन्द्रको नजिक पुगेका थिए । उनले महेन्द्रको शासनकालमा प्रधानमन्त्रीको जिम्मेवारी समाल्ने अवसर पनि पाएका थिए ।
हार्डलाइनर पञ्चका रुपमा चिनिएका उनी पछि विरेन्द्रसँग जनमत संग्रह घोषणाका विषयमा असहमति जनाउदै विदेशिएका थिए । उनले आफ्नो लामो समयर भारत र श्रीलंकामा बिताएका थिए ।
पूर्वराजा ज्ञानेन्द्रले २०५९ सालमा सत्ता हातमा लिएपछि पुनः नेपाल फर्केका उनी २०६१ सालको मन्त्रिपरिषद् उपाध्यक्ष भएर काम गरेका थिए ।
कट्टर राजावादीका रुपमा छवि बनाएका उनी राजतन्त्र ढलेपछि भने स्वदेश छाडेनन् । मुलुकमा गणतन्त्र आएपछि पनि स्वदेशमै बसिरहेका उनी लामो समयदेखि विभिन्न रोगले थलिएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४