ललितपुर–‘कला संस्कृतिको पहिचान, ललितपुर महानगरको अभियान’ भन्ने नाराका साथ ललितपुर महानगरपालिकाले स्थापनाको शतवार्षिकी मनाएको छ । सय वर्ष पूरा भएको अवसरमा महानगरले कला र संस्कृतिको प्रचार गरी महानगरलाई चिनाउने अभियान बनाएको उपमेयर गीता सत्यालले बताइन् ।
आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘आफ्नै मौलिक कला र संस्कृतिले सम्पन्न ललितपुर महानगरलाई देश विदेशमा चिनाउन महानगरले अभियान चलाउनेछ।’ सबै भन्दा पुरानो नगरपालिकाको रुपमा सन् १९१८ मा स्थापना भएको यस नगरी विभिन्न रुपमा विकसित हुँदै महानगरपालिका बन्न पुगेको इतिहास पनि उनले सुनाइन् ।
कार्यक्रममा सहभागी प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले ललितपुर नगरको आफ्नै गौरव र इतिहास भएको बताए । ‘समृद्ध र सुखी बन्न विकास आवश्यक छ,’ उनले भने, ‘सय वर्षको इतिहासलाई आत्मसाथ गर्दै अब ललितपुर नगरले विकासका क्षेत्रमा काम गर्नुपर्छ ।’ परम्परागत विषयलाई जोगाएर विकसित शहर बनाउन प्रदेश सरकारले सहयोग गर्ने उनले बताए ।
शताब्दी पुरुष सत्हमोहन जोशीले पनि ललितपुरको इतिहासको सर्बत्र चर्चा हुने भन्दै यसलाई ‘सिटी अफ फाइन आर्टस एण्ड क्राआफ्ट’का रुपमा व्याख्या गर्ने गरिएको बताए । परिवर्तनका लागि समय लाग्ने भन्दै उनले विस्तारै विकासका क्षेत्रमा ललितपुर अघि बढेको बताए । विगतमा आफूले चिने र जानेको ललितपुर अहिले धेरै फरक परिस्थितिमा पुगेको जोशीको भनाई छ ।
शतवार्षिकीको अवसरमा ललितपुर महानगरले महानगरपालिकाको लोगोसहितको स्तम्भ, मेट्रो पुस्तकालय, सामुदायक नगर अस्पतालको सिलायन्सलगायतका काम अघि सारेको छ ।
