आइतबार, जेठ २५, २०८२

हिमालयन उद्धार संघले गर्‍यो ६ वर्षमा ६ हजारको निःशुल्क उपचार

 |  मंगलबार, जेठ १, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १, २०८१

vianetvianet

काठमाडौं- हिमालयन उद्धार संघले छ वर्षमा पदयात्रामा जाने छ हजार दुई सय ७२ नेपालीको निःशुल्क उपचार गरेको छ।

विगत ५० वर्षदेखि पर्वतीय पदयात्रामा जाने आन्तरिक तथा बाह्य पदयात्रीको उपचारमा सक्रिय संघले सगरमाथा, मनाङ र गोसाइँकुण्ड क्षेत्रमा जाने नेपालीको निःशुल्क उपचार गरेको हो।

संघले सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुकै फेरिचे र मनाङको मनाङ गाउँमा अस्थायी स्वास्थ्य केन्द्र स्थापना गरी नेपाली पदयात्रीलाई निःशुल्क र विदेशी पदयात्रीलाई थोरै शुल्क लिएर स्वास्थ्यसेवा प्रदान गर्दै आइरहेको संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द बस्यालले जानकारी दिए।

त्यस्तै, सो संघले जनैपूर्णिमा मेलाका अवसरमा रसुवाको गोसाइँकुण्डमासमेत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। संघले सन् २०१९ मा एक हजार पाँच सय ८४ जना, सन् २०२० मा ९९ जना, सन् २०२१ मा सात सय ८५ जना, सन् २०२२ मा एक हजार तीन सय ८५ जना, सन् २०२३ मा एक हजार नौ सय ६९ जना र सन् २०२४ को हालसम्म चार सय ५० नेपाली पदयात्रीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ।

संघले छ वर्षमा दुई हजार पाँच सय ७४ विदेशी पर्वतीय पदयात्रीलाईसमेत स्वास्थ्यसेवा प्रदान गरेको छ।

National life insurance

सन् २०१९ मा एक हजार एक सय १६ जना, सन् २०२० मा १६ जना, सन् २०२१ मा एक सय ५१ जना, सन् २०२२ मा ५०५ जना, सन् २०२३ मा छ सय ३५ जना र सन् २०२४ को हालसम्म एक सय ५१ विदेशी पदयात्रीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ।

वसन्त ऋतुको आगमनसँगै संघले गत चैतदेखि आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ। वसन्त र शरद् ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विस २०३० मा स्थापना भएको संघले चैतमा वसन्त ऋतु सुरु भएसँगै पाँच विदेशी र दुई नेपाली चिकित्सकलाई सोलुखुम्बु र मनाङको तीन स्थानमा पठाएको हो।

हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी आधार क्षेत्रमा विशेषज्ञ सेवा उपलब्ध गराउन तालिम दिएर स्वयंसेवी चिकित्सक परिचालन गरिएको संघका अध्यक्ष डम्बर पराजुलीले बताए। सगरमाथा आधार शिविरमा एक विदेशी र दुई नेपाली चिकित्सक तथा फेरिचे र मनाङ गाउँमा दुई/दुई विदेशी चिकित्सकले स्वास्थ्यसेवा प्रदान गर्दै आएका छन्।

मनाङ स्वास्थ्य चौकीमा अष्ट्रेलियाका डा प्याट्रिक जुलियन टिम्स र डा थोमस रोस म्याकफार्लेन, फेरिचे स्वास्थ्य चौकीमा अष्ट्रेलियाका डा क्याथरिन अन्ना ग्रेला र अमेरिकी चिकित्सक डा ब्रायन मिचेल स्ट्रिकल्यान्ड तथा सगरमाथा आधार शिविरमा अमेरिकी चिकित्सक डा ग्रेगरी ह्यू स्टिलर र नेपाली चिकित्सकद्वय डा निशान्त जोशी र डा श्रेयसी कार्कीको टोली खटिएको छ।

संघका अध्यक्ष पराजुलीले कार्यक्षेत्रमा खटिएका स्वयंसेवक चिकित्सकलाई लेक लाग्ने, अन्य उपचारलगायत पर्वतीय क्षेत्रमा आइपर्ने स्वास्थ्य समस्याबारे विस्तृत तालिम प्रदान गरेर कार्यक्षेत्रमा पठाइएको बताए। संघले नेपाल मेडिकल काउन्सिलबाट स्वीकृत लिएका चिकित्सकलाई मात्र कार्यक्षेत्रमा खटाउने गरेको अध्यक्ष पराजुलीको भनाइ छ।

सो संघले सन् २००३ देखि सगरमाथा आधार शिविरमा स्वास्थ्य शिविर स्थापना गरी आरोही र आरोहणमा सहयोग गर्ने कर्मचारीका साथै अन्य पदयात्रीलाई सेवा दिँदै आएको छ। फेरिचेमा सन् १७७३, मनाङ गाउँमा सन् १९८० र गोसाइँकुण्डमा सन् १९९७ देखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। रासस

प्रकाशित: May 14, 2024| 21:01 मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्