काठमाडौं- काठमाडौं उपत्यकामा सोमबार यस वर्षकै सबैभन्दा बढि जाडो भएको छ । न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेसँगै जाडो बढेको हो ।
केहिदिन यता देशैभर ह्वात्तै चिसो बढेको छ । मौसमविद राजु प्रधानांगका अनुसार बंगालको खाडीको दक्षिण पश्चिम क्षेत्रमा ‘फेथाइ’ नामको समुद्री आँधी आएकाले त्यसको प्रभाव नेपालमा पनि परेको हो ।
यहि आधिका कारण देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली हुने र केही भागहरुमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमसविद्हरुले जनाएका छन् । उनीहरुका अनुसार चिसो अझै बढ्ने सम्भावना छ । पानी परेपछि मुलुकका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको पनि मौसमविद् प्रधानांगले बताए ।
चक्रवात प्रणाली उत्तरपश्चिम हुँदै भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा आज अपरान्ह्तिर ल्याण्डफल हुने महाशाखले जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार समुद्री आँधीले जमीनलाई छोएपछि त्यसलाई ल्याण्डफल भनिन्छ । ल्याण्डफलले वर्षा र हावाहुरी ल्याउने गर्दछ ।
आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बदलीका कारण बढी चिसो महसुस गरिएको छ । उपत्यकाको आकाशमा बदली रहेका कारण चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम २.५ र अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ । केही दिनयता निरन्तर न्यूनतम तापक्रम घटेकाले क्रमशः चिसो बढ्दै गएको छ । हिजो काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो ।
साता दिनअघि काठमाडौँको न्यूनतम तापक्रम ५ र ६ डिग्रीको हाराहारीमा थियो । पछिल्लो तीन दिन न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको उपत्यकाको आज भने २ डिग्रीमा झरेको हो । न्यूनतम तापक्रम घट्नुका साथै मौसम बदली रहेकाले आज काठमाडौँमा यो वर्षकै बढी चिसो महसुस गरिएको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री सेल्सियस रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४