काठमाडौं- करिब ६ महिनापछि शनिबारबाट सुरु भएको नेकपाको स्थायी समिति बैठक सोमबार पनि बस्दै छ ।
पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको साझा प्रतिवेदनमाथि छलफल हुने भएको छ । प्रतिवेदन अध्ययनका शनिबार सदस्यहरुलाई बाडिएको थियो ।
आजको बैठकमा उक्त प्रतिवेदनका विषयमा सदस्यहरुले धारणा राख्ने कार्यक्रम रहको छ । २२ पृष्ठ लामो उक्त प्रतिवेदनमा ऐतिहासिक पार्टी एकता, संगठनात्मक एकीकरण, सरकार सञ्चालनका नौ महिना, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक दलहरुको भूमिका, केन्द्रीय सचिवालयहरुको निर्णयहरुको अनुमोदन, पार्टीका आन्तरिक जीवनलाई व्यवस्थित बनाउने सम्बन्धमा र आगामी कार्यभार शीर्षकमा चर्चा गरिएको छ ।
अध्यक्षद्वयको प्रतिवेदनप्रति असहमति जनाउँदै सचिवालय सदस्य वामदेव गौतमले १६ पृष्ठ लामो अलग्गै प्रतिवेदन पेश गरेका थिए । उनले आफ्नो प्रतिवेदनमा नेतृत्वकै कारण पार्टीमा गुटबन्दी बढेको र सरकार समेत असफल बन्दै गएको आरोप लगाएका छन् ।
नेतृत्वको गैरजिम्मेवार व्यवहारका कारण पार्टीले प्रभावकारी ढंगले काम गर्न नसकेको दाबी गरेका छन् । उनले सरकारले समेत प्रभावकारी काम गर्न नसकेकाले गम्भीर ढङ्गले छलफल गर्नु पर्नेमा जोड दिएका छन् ।
अध्यक्षद्वयको प्रतिवेदनमाथि छलफल भएपछि वामदेवको प्रतिवेदनमाथि पनि छलफल हुने जनाइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४