सोमबार, भदौ ८, २०८३

फेरि फुट्यो उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल

 |  बिहीबार, वैशाख २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २७, २०८१

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फेरि फुटेको छ। जसपा नेपालबाट विभाजित भई महेन्द्र लावती नेतृत्वमा पहिचानवादी मोर्चा घोषणा भएको हो।

उनीहरूले केही वर्षअघि संघीय लिम्बुवानलाई जसपा नेपालमा समाहित गरेका थिए। गत आइतबार जसपा नेपालबाट अशोक राईसहित सात जना प्रतिनिधि सभा सांसद छुट्टिएर जनता समाजवादी गठन भएको थियो। गत सोमबार निर्वाचन आयोगले जनता समाजवादीलाई मान्यता दिएको थियो।

पार्टी विभाजनबाट असन्तुष्ट रहेका लावतीलगायतले बिहीबार पहिचानवादी मोर्चा घोषणा गरेका हुन्। सत्ताको खेलका कारण अशोक राई नेतृत्वमा जसपा नेपाल विभाजित भएको निष्कर्षसमेत उनीहरूको छ। आगामी दिनमा विकास र समृद्धिको पक्षधर राजनीतिक शक्ति निर्माण, सबै समुदायको पहिचानको स्थापना, वर्गीय मुक्ति, समानुपातिक प्रणाली, धर्मनिरपेक्षता, विधिको शासन स्थापना र भ्रष्टाचार नियन्त्रण गर्दै देशलाई समृद्धि पथतर्फ लैजाने मोर्चाको भनाइ छ।

उनीहरूले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरेर जसपा नेपालबाट अलगिएर पहिचानवादी मोर्चा घोषणा गरिएको बताए। पहिचानका मुद्दालाई सशक्त बनाउन, विभिन्न समूहमा अलग–अलग रही काम गरिरहेका पहिचानवादी दल तथा शक्ति, संगठन, अभियन्ता तथा व्यक्तित्व सबैलाई नयाँ शिराबाट एकताबद्ध बनाउने प्रयास गरिने मोर्चाले बताएको छ।

पहिचानवादी मोर्चाका संयोजक महेन्द्र लावतीले नेपालमा सदियौंदेखि एकल जातीय राज्य स्थापित भएको र आज पनि एकल जातीय राज्य कायमै रहेको बताए। नेपाल बहुजातीय समाज भएकाले नेपाली राज्य पनि बहुजातीय हुनुपर्ने, सबैको पहिचान स्थापित हुनुपर्ने उनको भनाइ छ।

 

प्रकाशित: May 09, 2024| 15:00 बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्