काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् ।
नेकपाको स्थायी समिति बैठकमा वामदेव गौतमले पेस गरेको अलग्गै प्रस्तावप्रति प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली रुष्ट बनेको विषयलाई कान्तिपुरले मुख्य समाचार बनाएको छ ।
उसले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका लागि प्रतिस्पर्धाबिनै हलिकप्टर किनेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ। ढेड अर्बमा किनिएको हेलिकप्टर सेनाले इटालीको उत्पादक कम्पनीसँग बिना प्रतिस्पर्धा किनेको समाचारमा उल्लेख छ ।
आजको अन्नपूर्णले भने नक्कली लालपुर्जाको सक्कली कथा शीर्षकमा वाइडवडी खरिदमा भएको अनियमितता बारे थप खुलासा गरेको छ ।
उसले नेपाली कांग्रेसको बन्दसत्रमा धर्मको बहस चलेको विषयलाई पनि विशेष महत्वका साथ छापेको छ । कांग्रेस हिन्दु राष्ट्रको पक्षमा उभिनु पर्ने भन्दै महासमिति सदस्यहरुले नै हस्ताक्षर संकलन गर्न थालेका छन्। हस्ताक्षर संकलनको नेतृत्व काठमाडौं महानगरको मेयर पदमा पराजित भएका राजुराज जोशीले गरिरहेको समाचारमा उल्लेख छ ।
आजको नयाँ पत्रिकाले पनि कांग्रेस महासमिति बैठकमा हिन्दूधर्मबारे बहस सुरु भएको र केहि नेताहरुले हस्ताक्षर अभियान नै चलाएको विषयलाई प्राथमिकताका साथ छापेको छ । मुलुकलाई धर्म निरपेक्ष बनाउन नहुने भन्दै कसैको बहकाउमा लागेर हिन्दु धर्म नास गर्न खोजिएकाले बचाउन कांग्रेसले नेतृत्व गर्नुपर्नेमा जोड दिइएको छ ।
नयाँ पत्रिकाले पर्यटकलाई बिरामी बनाउँदै हेलिकोप्टरबाट उद्धार र उपचारको धन्दा शीर्षकमा मुख्य समाचार छापेको छ ।
यस्तो धन्दाका विषयमा पर्यटन मन्त्रालयबाट गठित समितिले नै खुलासा गरेको समाचारमा उल्लेख छ। अस्पतालहरुले विरामी पर्यटकको उपचारबाट करोडौ असुल्ने गरेको पनि खुलासा भएको छ । एउटा पर्यटकको उपचारमा ६० लाखसम्म लिने गरेको समाचारमा उल्लेख छ ।
आजको नागरिक दैनिकले भने स्मार्ट लाइसेन्स छपाइ बिनाप्रतिस्पर्धा शीर्षकमा मुख्य समाचार छापेको छ ।
प्रधानमन्त्रीका अवैतानिक आइटी सल्लाहकार अस्गर अलीको स्वार्थ र चाहनामा स्मार्ट कार्ड र आइटीसम्बन्धी महत्वपूर्ण प्रोजेक्टहरु प्रतिस्पर्धा नगराई मन्त्रिपरिषद्बाट निर्णय गराएर सिधै सुम्पिने गरेको पाइएको समाचारमा उल्लेख छ ।
यस्तै नेपालका ठूला आयोजनाहरुमा काममा ढिलाइ गर्ने लागत बढाउने प्रवृति बढेको विषयलाई पनि नागरिक दैनिकले विशेष महत्वका साथ छापेको छ । तोकिएको समयमा कुनै पनि राष्ट्रिय गौरवका आयोजना सम्पन्न नहुँदा जनता निराश बन्दै गएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४