बिहीबार, असार ४, २०८३

पर्वतमा निर्माण सामग्री अभावले पूर्वाधारका योजना प्रभावित

 |  शनिबार, वैशाख १५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १५, २०८१

पर्वत- निर्माण सामग्री अभावमा पर्वतमा सडक, खानेपानी र सिँचाइका सयौँ योजना प्रभावित बनेका छन्। संघीय सरकार र प्रदेश सरकार अन्तर्गतका ती योजना निर्माण सामग्री अभावले प्रभावित बनेका हुन्। 

National life

ढुंगा, बालुवा, गिट्टीजस्ता नदीजन्य सामग्रीको अभावमा योजनाका काममा ढिलासुस्ती भएको हो। धेरैजसो योजना सामग्री अभावकै कारण सम्झौता अवधि सकिँदासमेत प्रगति न्यून छ। पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले नदीजन्य निर्माण सामग्रीको अभावले थुप्रै योजना सम्पन्न हुन नसकेको बताए। 

नदीजन्य वस्तुका लागि पर्वतमा दुइटा मुख्य स्रोत थिए, एउटा कालीगण्डकी र अर्को मोदीखोला। कालीगण्डकीबाट ढुंगा, बालुवा उत्खनन गर्न विगत तीन वर्षदेखि सर्वोच्च अदालतले रोक लगाएको छ। अर्कोतर्फ मोदीखोलाको अधिकांश भागमा जलविद्युत् आयोजना निर्माण भइरहेकाले ढुंगा र बालुवा उत्खननमा समस्या छ। कास्की, तनहुँ, म्याग्दीलगायत जिल्लाबाट निर्माण सामग्री ढुवानी गरेर पर्वतका योजनामा प्रयोग गर्ने गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। 

अधिकारीका अनुसार चालु आर्थिक वर्षका लागि संघ र प्रदेशका गरी १५२ वटा योजना कार्यान्वयनमा छन्। तीमध्ये ६६ वटा योजना सम्पन्न भइसकेका छन्। संघीय सरकारका आठ वटा ठूला योजना ठेक्का प्रक्रियामा रहेको उनले बताए। बाँकी योजनाहरूमा ग्राभेल, बेस, चिप्स अभाव हुँदा ठेकेदारहरूले समयमै सम्पन्न गर्न नसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। 

सामग्री अभावकै कारण पूर्वाधार कार्यालयको प्रगति न्यून देखिएको छ। आर्थिक वर्षको नौ महिनामा २१ प्रतिशत मात्र बजेट खर्च भएको छ। ठेकेदारले समयमै काम सम्पन्न नगर्दा भुक्तानी पाएका छैनन्। पूर्वाधारका मात्र नभई सिँचाइ, शहरी विकास तथा भवन डिभिजन कार्यालयका योजनाहरूमा पनि निर्माण सामग्रीको अभाव भएको निर्माण व्यवसायी शिव अधिकारीले बताए।

Shivam cement

प्रकाशित: Apr 27, 2024| 22:01 शनिबार, वैशाख १५, २०८१
प्रतिक्रिया दिनुहोस्