काठमाडौं- एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत विद्युत् प्रसारण आयोजनाको ४०० केभी न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अघि बढिरहेको छ।
सबस्टेसनमा ग्यास इन्सुलेटेड स्विचगियर तथा नियन्त्रण भवन, ट्रान्सफर्मर जडानस्थलका जग, ग्यान्ट्री र अन्य उपकरण जडानस्थलका जग निर्माण भइरहेको छ।
निर्माण सम्पन्न भएपछि न्यू बुटवल सबस्टेसन ४०० केभी बुटवल–गोरखपुर प्रसारण लाइनको अन्तिम बिन्दुका रूपमा रहनेछ। यसले नेपालको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ बनाउनुका साथै भरपर्दो विद्युत् आपूर्तिमा सहयोग पुर्याउनेछ।
यस आयोजनाले भारतसँग विद्युत् व्यापार गर्ने नेपालको क्षमता पनि बढाउने अपेक्षा गरिएको छ। आयोजनाअन्तर्गत न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ।