काठमाडौं। नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गरेका थिए।
भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेलायती सेनाध्यक्ष जनरल सर रोली वाकरलगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेट गरेका थिए। उनले वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलको भ्रमणसमेत गरेका थिए।
सो क्रममा अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘क्याम्ब्रियन पेट्रोल २०२६’ मा स्वर्ण पदक जित्न सफल नेपाली सैनिक टोलीका सदस्यलाई प्रधान सेनापति प्रशंसा निशानबाट सुशोभित गरिएको थियो।
नेपाली सेनाले यस भ्रमणबाट नेपाल र बेलायतबीच लामो समयदेखि कायम रहेको द्विपक्षीय सैनिक सम्बन्ध थप सुमधुर र प्रगाढ हुने विश्वास व्यक्त गरेको छ।