बुधबार, असोज २८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • संखुवासभाको हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने

संखुवासभाको हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने

 |  बुधबार, असोज २८, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०८३

काठमाडौं- संखुवासभाको उत्तरी तथा दुर्गम क्षेत्र भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार भएसँगै स्थानीय बासिन्दाले थप भरपर्दो विद्युत् सेवा पाउने भएका छन्। यसअघि लघु जलविद्युत् आयोजनामार्फत विद्युत् उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति सुरु गरिएको हो।

राष्ट्रिय प्रसारण लाइन विस्तारपछि भोटखोला गाउँपालिकाको कार्यालय र हटियास्थित अस्पतालमा थ्री फेज मिटर जडान गरी विद्युत् आपूर्ति सञ्चालनमा ल्याइएको छ। यसबाट स्थानीय बासिन्दासँगै सरकारी कार्यालय, स्वास्थ्य संस्था, कुटानी–पिसानी मिल तथा घरेलु उद्योग प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिकाको किमाथांकासम्म पनि राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने प्रक्रिया अघि बढाइएको छ। नेपाल विद्युत् प्राधिकरणले उक्त क्षेत्रमा विद्युत् पुर्याउन आवश्यक ठेक्का प्रक्रिया अगाडि बढाइसकेको छ। चालु आर्थिक वर्षभित्रै किमाथांकामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति पु¥याउने लक्ष्य राखिएको छ।

संखुवासभामा विद्युत् पहुँच विस्तारलाई प्राथमिकतामा राखेर प्राधिकरणले दुर्गम बस्तीहरूमा राष्ट्रिय प्रसारण प्रणाली विस्तारको काम निरन्तर अघि बढाइरहेको छ। जिल्लाका करिब ९५ प्रतिशत घरधुरीले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् उपभोग गरिरहेका छन्। बाँकी घरधुरीमा भने लघु जलविद्युत् तथा सौर्य ऊर्जामार्फत विद्युत् सेवा उपलब्ध हुँदै आएको छ।

हटियामा राष्ट्रिय प्रसारण लाइन पुगेपछि भोटखोलाका दुर्गम बस्तीलाई राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने अभियानले थप गति लिने अपेक्षा गरिएको छ। अब किमाथांकासम्म प्रसारण लाइन विस्तार गर्ने लक्ष्य पूरा भएमा चीनसँग सीमा जोडिएको यस दुर्गम क्षेत्रको विद्युत् पहुँच विस्तारमा अर्को महत्वपूर्ण उपलब्धि हासिल हुनेछ।

प्रकाशित: Oct 14, 2026| 13:46 बुधबार, असोज २८, २०८३
प्रतिक्रिया दिनुहोस्