काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका अधिकांश राष्ट्रिय दैनिक अखबारहरुले कांग्रेसको महासमिति र नेकपाको स्थायी समिति बैठकका विषयलाई प्राथमिकतामा पारेका छन् ।
कान्तिपुर दैनिकले कांग्रेस महासमिति बैठक सुरु भएको विषयलाई मुख्य समाचार बनाउँदै नेताहरुलाई मिल्न दबाब शीर्षकमा खबर छापेको छ । उद्घाटन सत्रलाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले हात उठाउँदै र मिलाउँदैमा पार्टी एकजुट नहुने बताएका थिए ।
उनले किसुनजी र गिरिजाबाबुले पनि यसरी नै हात मिलाएका थिए तर पछि के भयो ? भनेर प्रश्न समेत गरेका थिए । जावाफमा सभापति शेरबहादुर देउवाले गणेशमानजी र किसुनजीले जस्तो अपमान सहेर पार्टी त्याग्नु पर्ने अवस्था आउन नदिने बताएका थिए ।
नागरिक दैनिकले भने नेपाली कांग्रेस महासमितिः पार्टी एकढिक्का बनउने संकल्प शीर्षकमा मुख्य समाचार लेखेको छ। अन्नपूर्णले पनि कांग्रेस महासमितिको बैठकलाई प्राथमिकताका साथ छापेको छ । नयाँ पत्रिकाले भने 'कांग्रेस महासमिति : उद्घाटनसत्रमा भनाभन' शीर्षकमा खबर लेखेको छ ।
कांग्रेसको महासमिति बैठकसँंगै करिब ६ महिनापछि बसेको नेकपाको स्थायी समिति बैठकमा उठेका एजेन्डाका विषयलाई पनि आजका पत्रपत्रिकाले महत्वका साथ प्रकाशित गरेका छन् । नागरिक दैनिकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन सरकारको प्रतिरक्षामा केन्द्रित रहेको र वामदेव गौतमले अलग्गै प्रस्ताव पेश गरेको खबर लेखेको छ।
कान्तिपुरले पनि ओली र प्रचण्डको प्रतिवेदनमा सरकारमाथि योजनाबद्ध रुपमा आक्रमण भएको भन्दै असन्तुष्टि पोखेको उल्लेख गरेको छ । नयाँ पत्रिकाले भने नेकपा स्थायी समितिमा अध्यक्षद्वयको प्रस्ताव, वामदेवको पुरक प्रस्ताव शीर्षकमा खबर छापेको छ ।
आजको नयाँ पत्रिकाले मुख्य प्राथमिकतामा भने ओली सरकारले बाचा गरेबमोजिम पुसमा पानीजहाज नआएको विषयलाई पारेको छ । उसले पुस आयो, पानी जहाज आएन शीर्षकमा खबर लेखेको छ। समाचारमा जनाइएअनुसार अध्ययन समितिले पानीजहाज सञ्चालन गर्ने भनिएका नदीको स्थलगत भ्रमण समेत भएको छैन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाटै पुसमा पानीजहाज चड्ने निम्तो दिएका थिए ।
यस्तै आजका पत्रपत्रिकाले भारतमा समातिएको ३३ किलो सुन नेपालबाट गोरे समुहले बेपत्ता बनाएको हुनसक्ने आशंका गरिएको र सवारी साधनलाई कम्पनिमा जान ३ महिना म्याद थपिएको विषयलाई पनि महत्वका प्रकाशित गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४