मंगलबार, भदौ ९, २०८३

विपन्न बस्तीमा आइलागेको आपत् : खुला आकाशमा भोको रात

 |  बिहीबार, वैशाख १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १३, २०८१

महोत्तरी- बुधबार दिउँसोको आगलागीबाट घरबारविहीन भएकी महोत्तरीको मटिहानी–६ जरलहवागाछीकी मैमुन खातुनका आँखा अझै ओभाएका छैनन्। 

बनीबुतो गरेर सञ्चय गरिएको अन्नपात, लुगाफाटा र भाँडाकुडासहित घरजलेर खरानी भएपछि अब जहान परिवार कहाँ लिएर कसरी पालिने भन्ने चिन्ताले मैमुनलाई पिरोलेको छ। बनीबुतो र  खेत बढैया (अधिया) गर्दै जोहो गरिएका अन्नपात र क्षणभरमै खरानी भएपछि मैमुनका पति शेष फर्मुदका आँसु पनि थामिएका छैनन्। फर्मुद सुस्केरा हाल्दै भन्छिन्, ‘आब केना जिबै ! या अल्लाह (अब कसरी बाँच्ने हे ईश्वर)!’

मैमुन परिवारमा मात्रै होइन घरबारविहीन सो बस्तीका एक सय ६० भन्दा बढी आगलागी पीडित परिवारको व्यथा उस्तै छ। ति परिवारसँग न खाने अन्न छ, न त फेर्ने लुगा।

‘कुछो बच नइसकल, सब जैरगेल (घरका केही सामान बचेनन्, सबै जले)’, बस्तीकी आगलागी पीडित लखनदेवी पासवान भन्छिन्, ‘आब परिवारके कोना गुजारा चलत(अब परिवारको गुजारा कसरी चल्ला!’ बुधबार लखनदेवी उपचारका लागि भारतको सीतामढी गएकी थिइन्। घर फर्कदा घरको ठाउँमा खरानीको थुप्रो मात्रै देखेपछि बेहोस भएकी उनलाई नगरप्रमुख हरिप्रसाद मण्डलसहितका प्रतिनिधिले ढाडस दिएपछि सम्हालिए पनि वर्षौको थातथलो देखेर अझै बेचैन छिन्। 

matihani_aglagi-1714055769.jpg
 

अधिकांश मुस्लिम समुदाय र धानुक, साह, मलाहसहितका जातिको बसोबास रहेको जरलहवागाछी विपन्न बस्ती हो। त्यही बस्तीमा बुधबार मध्याह्न मैमुन खातुनको परालको कुन्यूबाट सल्केको आगोले भीषण रुप लिँदै एक सय १० घर पूर्णरूपमा जलेर खरानी बनायो। आगोको लप्काले बस्तीका ५० जति अन्य घरमा क्षति पुगेको छ। सो घटनामा पाँच वटा पशुचौपाया मर्नुका साथै १५ करोडभन्दा बढीको धनमाल क्षतिभएका नगरप्रमुख हरिप्रसाद मण्डल बताउँछन्।

मध्याह्नतिर लागेको आयो हावाको बहाबसँगै तीव्र गतिमा बस्ती पसेको थियो। सो आगो निभाउन मटिहानी, जलेश्वर, रामगोपालपुर र प्रदेश प्रहरी कार्यालयका दमकलसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले छ घण्टासम्म सङ्घर्ष गर्नुपरेको थियो। 

aglagi_45564546546-1713954895.jpg
 

आगो निभाए लगत्तै मटिहानी नगरपालिकाले तत्कालै पीडित परिवारलाई चिउरा, सख्खरसहितका तयारी खानेकुरा, ओतका लागि त्रिपाल र नेपाल रेडक्रस सोसाइटी महोत्तरीले बाल्टिन र जग उपलब्ध गराएको थियो। आज अन्य सङ्घ संस्था, समाजसेवी र स्थानीय व्यापारीले सहयोग प्रदान गरेका छन्।

यसैगरी प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा अग्निपीडितको सहयोगार्थ जुट्न सम्बद्ध सामाजिक सङ्घसंस्था, मनकारी व्यक्तिहरु र विभिन्न निकायसँग अपिल गरिएको बताए। 

प्रकाशित: Apr 25, 2024| 20:22 बिहीबार, वैशाख १३, २०८१
प्रतिक्रिया दिनुहोस्