शुक्रबार, असार ५, २०८३

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

 |  बिहीबार, वैशाख १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १३, २०८१

बाँके- चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ। दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्ने गरेको छ।

National life

जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका अनुसार केही दिनदेखि नेपालगञ्जको अधिकतम तापक्रम बढेको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालगञ्जलगायत आसपास क्षेत्रका विभिन्न भू-भागमा पाँच दिनसम्म तातो हावा चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाका अनुसार बैशाख १० देखि १४ गतेसम्म पाँच दिनको समयमा तराईका भागका केही स्थानमा तातो हावाको सम्भावना रहेको छ। तातो हावाबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न विभिन्न उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ।

तातो हावाबाट बच्न गर्मी समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा सेवन गर्ने, स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न भेरी अस्पतालका फिजिसियन डा पारस श्रेष्ठले आग्रह गरे।

अत्यधिक गर्मी हुने नेपालगञ्जमा विगत केही दिनयता तापक्रममा उतारचढाव हुने गरेको छ। दिउँसोको समयमा चल्ने सुक्खा तातो हावाका कारण जनजीवन प्रभावित बन्दै गएको छ। चर्को गर्मी र तातो हावाका कारण दैनिक ज्याला मजदुरी गरेर हातमुख जोड्ने वर्गलाई धेरै प्रभाव परेको छ। दैनिक रूपमा ठेला चलाउने, रिक्सा चलाउने तथा अन्य ज्यालादारी गर्ने मजदुरलाई समस्या परेको नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यले बताए।

Shivam cement

चर्को गर्मी र तातो हावाका कारण सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ। अत्यावश्यक काम भएका सेवाग्राही मात्र कार्यालयमा आउने गरेका छन्। भेरी अस्पतालमा पनि बिरामीको चाप बढेको डा श्रेष्ठले बताए।

दिउँसोको समयमा सुनसानजस्तो देखिने नेपालगञ्ज बजार साँझको समयमा भने भीडभाड हुने गरेको छ। बजारका विभिन्न चोक तथा पसलमा काँक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फी तथा चिसो पेय पदार्थ सेवन गर्ने सर्वसाधारणको सङ्ख्या उल्लेख्य देखिन्छ। रासस

प्रकाशित: Apr 25, 2024| 20:12 बिहीबार, वैशाख १३, २०८१
प्रतिक्रिया दिनुहोस्