शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीको प्रयोग बढ्दो

पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीको प्रयोग बढ्दो

 |  बिहीबार, वैशाख १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १३, २०८१

गण्डकी- प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ।

National life

यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि विद्युतीय सवारीसाधन भित्र्याउन थालेका छन्। प्रदूषणमुक्त र सञ्चालन खर्च कम आउने हुँदा विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेको हो।

एक महिनाअघि पोखरा-बागलुङ विद्युतीय भ्यान सञ्चालन ल्याएको धवलागिरि गण्डकी यातायात सेवा प्रालि आउँदो सातादेखि सेवा विस्तार गर्ने योजनामा छ। 'एउटा भ्यान थपेर सेवा बढाउँदैछौँ, पोखरा-बागलुङ दिनमा छपटक भ्यान छुट्छ', प्रालिका अध्यक्ष उमेश केसीले भने, 'सुविधायुक्त र वातावरणमैत्री भएकाले यात्रु पनि आकर्षित छन्।'

चौध सिट भएको उक्त भ्यानमा सीसीटीभी, वाइफाइ र मोबाइल भुक्तानीको समेत व्यवस्था रहेको छ। भ्यानमा पोखरा-बागलुङको भाडादर प्रतियात्रु चारसय ५० रूपैयाँ तोकिएको छ। प्रालिले निकट भविष्यमा बागलुङबाट नारायणगढ र काठमाडौंमा उक्त सेवा विस्तार गर्ने योजना बनाएको अध्यक्ष केसीले बताए।

बिजुलीको नियमित उपलब्धता, चार्जिङ स्टेसन, पार्टपुर्जा आदिका दृष्टिबाट भने विद्युतीय सवारीसाधन सञ्चालनमा केही अन्योलता देखिएको उनको भनाइ छ। 'सरकारले विद्युतीय सवारीसाधनको आयातदेखि चार्जिङ स्टेसन विस्तार, बाह्रैमास विद्युत् सेवाको सुनिश्चितताजस्ता विषयमा ध्यान दिनुपर्छ', अध्यक्ष केसीले भने।

Laxmi sunrise bank
kumari

यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराम रिजालले उक्त कार्यालयमा ५० भन्दाबढी विद्युतीय भ्यान दर्ता भएको जानकारी दिए। पोखरामा आठ वटा विद्युतीय ट्याक्सी र स्कुटर एक सयभन्दा बढी दर्ता भइ सञ्चालन भइरहेको उनको भनाइ छ। 'निजी विद्युतीय कारको सङ्ख्या पनि उल्लेख्य मात्रामा बढ्दो छ', प्रमुख रिजालले भने, 'पोखरामा विद्युतीय सवारीसाधन भित्रिने क्रम बढ्दो छ।'

उनले डिजेल-पेट्रोलबाट चल्ने सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको सञ्चालन खर्च कम आउने बताए। 'प्रदूषणमुक्त हुने र सेवासुविधाका कारणले पनि विद्युतीय सवारीसाधनप्रति व्यवसायी र यात्रुको आकर्षण बढेको देखिन्छ', प्रमुख रिजालले भने, 'सुरुमा यसप्रति खासै रुचि देखिएको देखिएन, अहिले विद्युतीय सवारीसाधनको किनबेच र दर्ता ह्वात्तै बढेको छ।'

प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका प्रशासन तथा यातायात व्यवस्थापन महाशाखा प्रमुख टीकाराम पौडेलले मझौला र साना विद्युतीय सवारीसधान प्रयोगमा आइरहेको बताए।

'गण्डकी प्रदेशमा ठूला विद्युतीय बस सञ्चालनमा आइसकेका छैनन्, कार, भ्यान र स्कुटरको संख्या बढ्दो छ', उनले भने, 'कास्की, बागलुङ, तनहुँ र नवलपुरमा रहेका यातायात कार्यालयमा विद्युतीय सवारीसाधन दर्ता गर्न सकिन्छ।'

पोखरामा ११, १४ र १५ सिट क्षमताका भ्यान सञ्चालनमा छन्। चार्जिङ स्टेसन भएका ठाउँमा मात्र सवारीसाधनको दर्ता र सञ्चालनमा अनुमति दिने गरिएको महाशाखा प्रमुख पौडेलले बताए। विद्युतीय सवारीसाधनका लागि नेपाल विद्युत् प्राधिकरणले पोखरामा दुई वटा चार्जिङ स्टेसन स्थापना गरेको उनको भनाइ छ। बागलुङमा न्यून क्षमताको चार्जिङ स्टेसन राखिएको छ। मुख्य राजमार्ग र सहरी क्षेत्रमा थप चार्जिङ स्टेसन राख्न पहल भइरहेको मन्त्रालयले जनाएको छ। रासस

प्रकाशित: Apr 25, 2024| 18:01 बिहीबार, वैशाख १३, २०८१
प्रतिक्रिया दिनुहोस्