काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टीका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टी कमजोर हुनुको कारण स्विकार गर्न लगाउदै हात मिलाउन लगाएका छन् । उनको आग्रहबमोजिम दुबै नेताहरुले हात मिलाएका थिए ।
उनले शीर्ष नेताहरुलाई अहिले मिलेको हात कहिल्यै नछुटाउन आग्रह गरेका थिए । पार्टीलाई एक ढिक्का बनाउन नेताहरु नै सबैभन्दा पहिला मिल्नु पर्ने उनको भनाइ थियो ।
उनले कांग्रेस एकजना र एउटा कारणले मात्रै कमजोर नभएको भन्दै सबैले कमजोरी स्विकार्नु पर्ने बताए । उनले महासमिति बैठकबाट पार्टी एक ढिक्का भएर अघि बढ्नु पर्नेमा जोड दिएका छन् । उनले दुई नेताबीच ब्यक्ति रुपमा देखिएको प्रेम पार्टीमा पनि देखाउन सुझाव दिए ।
उनले पार्टीका लागि आफूले पनि खुन बगाएको स्मरण गर्दै उनले दश वर्ष पछि पार्टीका कार्यकर्तालाई सम्बोधन गर्न पाउँदा अत्यन्त हर्षित भएको बताएका थिए । उनले कम्युनिस्ट एक जुट भएर कांग्रेसलाई कमजोर पार्न खोजिएकोले कांग्रेस आफैभित्र लडाईँ गरेर बस्न नहुने बताए । कांग्रेसकै नेतृत्वमा आगामी सरकार बनाउने गरि रणनीतिका साथ अघि बढ्नु पर्नेमा उनले जोड दिए ।
उनले आफ्नो मन्तब्यका क्रममा नेकपा र त्यसको नेतृत्व र माधव नेपालको चर्को आलोचना गरेका थिए । उनले कांग्रेसकै कृपाका कारण नेता नेपाल प्रधानमन्त्री बनेको बताए । आफूलाई नेकपामा आउनका लागि ओली र प्रचण्डले आग्रह गरेको तर आफू आफ्नो पुरानै घर फर्किएको बताए । आफू मधेश भन्दा देशलाई माया गर्ने व्यक्ति भएको र कांग्रेस बनाउन पुनः फर्किएको प्रष्टिकरण दिए ।
अहिले कांग्रेस कमजोर भएका कारण कम्युनिस्टको मनमौजी बढेको उनले टिप्पणी गरे । उनीहरुले संविधान नै खाने खेल चलेको उनले बताए । कम्युनिस्टहरु आएपछि प्रेस, न्यायलय, संसदीय पद्धतीमाथी नै प्रहार भएको उनको भनाइ थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४