शनिबार, पुस १२, २०८२

ऐतिहासिक ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार

 |  बुधबार, वैशाख १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १२, २०८१

म्याग्दी- तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनी नगरपालिका-९ स्थित ऐतिहासिक महत्वको ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार भएको छ।

National life

ऐतिहासिकस्थलको संरक्षण गरी पर्यटक भित्र्याउनका लागि पूर्वाधार निर्माणलाई तीव्रता दिइएको हो। पछिल्लो छ वर्षको अवधिमा ढोलठानामा ५० लाख बढीको पूर्वाधार निर्माण भएको बेनी नगरपालिका-९ घतानका वडाध्यक्ष चक्र केसीले बताए।

'बेनी र गलेश्वर आउने पर्यटक तथा भक्तजनको बसाइ लम्ब्याउने उद्देश्यले ढोलठानामा पूर्वाधार विस्तारलाई तीव्रता दिइएको हो', उनले भने, 'गलेश्वरदेखि घतान हुँदै ढोलठाना जोड्ने पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न अध्ययन थालिएको छ।'

यस वर्ष गण्डकी प्रदेश सरकारको १० लाख रूपैयाँ बजेटबाट ढोलठाना दरबार रहेको ठाउँमा मौलिक सीप, कला र स्रोतसाधनको प्रयोग गरेर विश्राम गरेर दृष्यावलोकन स्थल, पैदलमार्ग र प्रवेशद्वार निर्माण गरिएको छ।

वडा सदस्य गणेश सुवेदीले ढुंगा र माटोको प्रयोग गरेर दुई सय मिटर सिँढी चिनेको पदमार्गका साथै उद्यान र बसेर दृष्यावलोकन गर्न ढुंगाको सिँढीसहितको विश्रामस्थल बनाइएको जानकारी दिए।

Laxmi sunrise bank
kumari

प्रदेश सरकारकै थप १० लाख रूपैयाँ बजेटबाट उद्यान परिसरलाई संरक्षण गर्न टेवा पर्खाल निर्माण थालिएको छ। यसअघि ३० लाख रूपैयाँ बजेटबाट सडक, पदमार्ग, उद्यान, सार्वजनिक शौचालय र विश्रामस्थल निर्माण भएको थियो।

तत्कालीन राजा बम मल्लको समयमा विसं १६३१ देखि राजा हिउँदका चार महिना बेनी र अरु आठ महिना ढोलठानामा बसेर तत्कालीन पर्वत राज्य सञ्चालन गरेको इतिहास छ। पर्वत राज्य नेपालमा विलय भएको विसं १८४३ सम्म ढोलठानामा सो राज्यको राजधानीकारुपमा रहेको थियो। 

नीलबराह सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सागर बानियाँले ढोलठानामा उद्यान निर्माणका क्रममा भेटिएका प्राचीन सामग्री सुरक्षितरुपमा राखिएको बताए। उनका अनुसार तत्कालीन दरबार निर्माणमा प्रयोग भएका काठ, चट्नी र नुन पिस्ने सिलौटो, झिँगटी, घरका पिल्लर र इँटा भेटिएको थियो।

समुन्द्री सतहदेखि एक हजार आठ सय ८० मिटर उचाइमा अवस्थित ढोलठानाबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरिलगायत दर्जनौँ हिमाल, सूर्योदयोको मनमोहक दृष्यको अवलोकन गर्न सकिन्छ। पूर्वाधार निर्माणसँगै बेनी र अन्य ठाउँबाट आएका पर्यटकको चहलपहल बढेको स्थानीय रामबहादुर शाहीले बताए।

'नागबेली परेर बगेको म्याग्दी नदीका साथै पर्वत र बागलुङका बजार तथा बस्ती अवलोकन गर्न पाउनु ढोलठानाको थप विशेषता हो', उनले भने, 'सडक यातायात सुविधा र प्रचारप्रसारसँगै चहलपहल बढेको हो।' रासस

प्रकाशित: Apr 24, 2024| 21:01 बुधबार, वैशाख १२, २०८१
प्रतिक्रिया दिनुहोस्