काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री शंसाक कोइरालाले कांग्रेसलाई जगाउने र उठाउने ऐतिहासिक जिम्मेवारी आफूहरुकै रहेको बताएका छन् । महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दे महामन्त्री कोइरालाले पात सुके पनि रुख नसुकेको भन्दै फेरि सबै एकजुट भएर कांग्रेसलाई जगाउनु पर्नेमा जोड दिएका हुन् ।
उनले महासमिति बैठकले आगामी यात्रा तय गर्ने बताए । सांगठनिक अवस्था, चुनौती र प्रतिस्पार्धाको अवस्था बारे गम्भीर ढङ्गले छलफल गर्दै पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नेमा जोड दिए । उनले पार्टीको आत्ममूल्याङ्कन गर्दै आगामी बाटोका लागि बहस चलाउन महासमिति सदस्यसँग आग्रह गरे ।
कोइरालाले वीपिको ओहदा भन्दा पनि योग्दानलाई स्मरण गरेको भन्दै अहिलेका नेताहरुले पनि आफ्नो योगदानलाई बढाउनु पर्नेमा जोड दिए । उनले देशका कुना काप्चामा बसेर पार्टीको लागि योगदन गर्ने कार्यकर्ताहरुको उचित सम्मान हुनुपर्ने बताए।
उनले आफूहरुमाथि ठुलो अभिभारा रहेको र यसलाई व्यवस्थित गर्न जरुरी भएको बताए । महामन्त्री कोइरालाले सरकार कमजोर बनेका कारण हत्याका शृखला बढेको, महंगी बढेको, भ्रष्टाचार मौलाएको टिप्पणी गरे । वुद्धिजीवीको अपमान गर्ने, अबै क्षेत्रमा अराजकता मच्चाउने, क्रिस्चियन संस्थाको आयोजक बन्ने सरकारका कारण जनता धेरै निराश भएको उनको भनाइ थियो ।
यो निराशा हटाउने काम कांग्रेसको भएको उनले बताए । स्थापना कालदेखि नै धर्म स्वतन्त्रताको पक्षमा रहेको कांग्रेस सबैको धर्म संरक्षणमा कटिवद्ध रहेको उनले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४