आइतबार, मंसिर २८, २०८२

तनहुँका २३ सामुदायिक वनमा आगलागी, सबै नियन्त्रणमा

 |  मंगलबार, वैशाख ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ११, २०८१

तनहुँ- तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ। फागुनदेखि वैशाख महिनाको हालसम्म विभिन्न सामुदायिक वनमा डढेलो लागेको हो।

National life

डढेलोका कारण साढे दुई महिनाको अवधिमा एक सय सत्र दशमलव तीन हेक्टर क्षेत्रफलमा आगलागी भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ। जिल्लाका १० पालिकामध्ये सात पालिकामा आगलागी हुनबाट जोगिएको छ। आँबुखैरेनी, घिरीङ र भानु नगरपालिका डढेलो लाग्नबाट बचेको डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत एवं सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए।

समयमा आगो नियन्त्रणमा लिन सकिएका कारण वनमा बढी क्षति हुनबाट जोगाउन सकिएको उनले बताए। उनका अनुसार व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका छ÷छ वटा सामुदायिक वनमा डढेलो लागेको थियो।  

त्यसैगरी ऋषिङ गाउँपालिकामा चार वटा सामुदायिक वनमा डढेलो लागेको छ भने बन्दीपुर, भीमाद, देवघाटमा दुई-दुई र शुक्लागण्डकीको एक सामुदायिक वनमा आगलागी भएको थियो। भौगोलिक विकटताका कारण आगलागीका घटनापछि नियन्त्रणमा लिन कठिनाइ हुने गरेको उनले बताए।

नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, वनका कर्मचारी तथा उपभोक्ताको सक्रियतामा आगो नियन्त्रणमा महत्वपूर्ण भूमिका रहँदै आएको छ। आगलागीबाट वन जोगाउन सचेतनामूलक कार्यक्रमलाई व्यापकरूपमा प्रचारप्रसार गरिएको छ। माइकिङका साथै सञ्चारमाध्यमबाट सचेतनामूलक कार्यक्रम गर्दै आएको सो कार्यालयले जनाएको छ। 

Laxmi sunrise bank
kumari

डिभिजन वन मातहतमा अग्नि नियन्त्रण कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको छ। वनमा डढेलो लागेको सूचना आउनेबित्तिकै टोली परिचालन गर्ने गरिएको डिभिजन वनका अर्का वन अधिकृत काशीराज पण्डितले जानकारी दिए।

ठूलो परिणाममा आगलागी र जोखिम हुने देखिएमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसँग समन्वय गरी आगो नियन्त्रणको प्रयास गरिएको छ। तनहुँमा सामुदायिक वन छ सय २४, कबुलियती वन चार सय ८५ र धार्मिक वन ११ वटा रहेका छन्। खडेरी मौसम रहिरहे जेठ महिनासम्म आगलागीको जोखिम रहने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बन अधिकृत पण्डितले बताए।

प्रकाशित: Apr 23, 2024| 18:44 मंगलबार, वैशाख ११, २०८१
प्रतिक्रिया दिनुहोस्