काठमाडाैं- नेपाली काँग्रेसको महासमिति बैठकको उद्घाटन सत्रमा बोल्ने अधिकांश नेताहरुले नेतृत्वको आलोचना गरेका छन् ।
करिब ६ वर्षपछि भएको बैठकमा बोल्ने नेताहरुले गुट र व्यक्तिगत स्वार्थका कारण पार्टी धराशायी भएको भन्दै नेतृत्वको आलोचना गरेका हुन् । उनीहरुले पार्टी भित्रको गुट अन्त्य नभएसम्म पार्टी उभो नलाग्ने समेत बताएका छन् ।
उनीहरुले सरकार दुई तिहाइको बनेपनि काम भने केहि गर्न नसकेका बेला प्रतिपक्षी दल काँग्रेसले आफ्नो भूमिका देखाउन नसकेकोमा पनि चिन्ता व्यक्त गरेका थिए । उनीहरुले पार्टीको हार र सांगठनिक रुपमा देखिएको कमजाेरीको निर्मम समिक्षा गर्नु पर्नेमा जोड दिएका छन्। उनीहरुले महासमिति बैठकबाट कांग्रेस नयाँ जोशका साथ मैदानमा उत्रिनु पर्ने भन्दै सदस्यहरुलाई ठिक निर्णय लिन पनि सुझाएका छन् ।
उद्घाटन सत्रमा बोल्दै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेतृत्वप्रति चर्काे असन्तुष्टि व्यक्त गरेका छन् । उनले नेताहरुमा रहेको असन्तुष्टि सम्बोधन गर्नु पर्ने र नेतृत्वले एकलौटी शैली त्याग्नु पर्नेमा जोड दिएका थिए । महासमितिबाट कांग्रेसले गति लिनु पर्ने र त्यसका लागि महासमिति सदस्यले व्यक्ति र शक्तिभन्दा माथि उठेर निर्णय लिनु पर्नेमा जाेड दिए ।
सरकार यति कमजोर र निकम्मा भइरहेका बेला कांग्रेसले आफ्नो भूमिका देखाउनु पर्ने उनको भनाइ थियो । सिटौलाले कांग्रेस जनतामाझ जान धेरै ढिलो भइसकेको भन्दै अब चुप लागेर बस्न नहुने बताए ।
अर्का पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि नेतृत्वले आफ्नो कार्यशैली सच्याउनु पर्नेमा जोड दिए । महासमितिले दिएका सुझाव र गरेका निर्णयलाई नेतृत्वले हुबहु कार्यान्व्यन गर्नु पर्ने उनको भनाइ थियो । इतिहासमै सबैभन्दा कमजोर बनेको कांग्रेस अब पनि नउठे सधै पछि पर्ने बताए ।
अर्का नेता केबी गुरुङले कांग्रेसलाई किन भोट दिने ? भन्ने प्रश्नको निर्मम समीक्षा गर्नु पर्नेमा जोड दिए । उनले वीपीको बाटो बिर्दार्सिएकै कारण कांग्रेसले आजको दिन भोग्नु परेको टिप्पणी गरे । कांग्रेस प्रति जनताको माया आज पनि उस्तै भएपनि नेतृत्वले यसलाई क्यास गर्न नसक्दा समस्या भएको बताए ।
कांग्रेस नेता तारानाथ रानाभाटले सात सालदेखि प्रजातान्त्रिक आन्दोलनको अगुवाइ गर्दै आएको कांग्रेस आज रुनु पर्ने अवस्था किन आयो ? यसको समीक्षा गर्नुपर्नेमा जोड दिए । उनले नेतृत्वले कमजोरी स्वीकार्नु पर्ने र गुट सधैलाई समाप्त पार्नु पर्ने बताए ।
कांग्रेस नेता डा रामशरण महतले पार्टी आन्तरिक विवाद र गुटमा अल्झिएका कारण झनै कमजोर बन्दै गएको टिप्पणी गरे । आन्तरिक विवादलाई हल गर्दै महासमितिबाट एक भएर बाहिर जानु पर्नेमा उनले जोड दिए । उनले चुनवामा पार्टीले बेहोरेको हारको समेत समिक्षा गर्नु पर्ने बताए ।
अर्का नेता अर्जुननरसिंह केसीले भने आफ्ना कमजोरीको निर्मम समिक्षा गर्नुपर्नेमा जोड दिए । उनले पार्टीका नेताहरुलाई जिम्मेवारी दिने र जनतासमक्ष आफ्ना एजेन्डा लैजाने विषयमा चुकेको टिप्पणी गरे । नेतृत्वको कमजोरीकै कारण पार्टी झनै कमजोर बनेको उनको दाबी थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४